देउराली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचेको तर्क गरेपछि संसदमा हंगामा भएको छ ।
सोमवार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्रीले भने ‘संवैधानीक व्यवस्थाको हिजो उलङघन भयो । र संविधानको निर्मम ढंगले प्रहार भयो । त्यहाँ न कुनै यदि थियो न कुनै तर थियो । एउटा सरकारले नेपाल सरकारले गरेको निर्णयलाई अर्को सरकारले मान्दीन भनेर सिधै भन्न मिल्दैन् । उसले त्यसलाई स्विकार गर्न पर्छ र राज्यको निर्णयको रुपमा मान्नु पर्छ ।’
उनले संघीय संसद्को दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको दाबी प्रधानमन्त्रीले गरेपछि एमाले सांसदले चर्को विरोध गरे ।
प्रधानमन्त्रीले बोल्दै गर्दा सभामुखले एमाले सांसद सुर्य वहादुर थापालाई बोल्न समय दिएपछि संसदमा झनै तनाव भएको भएको थियो । सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीले नागरिकता विधेयक सम्बन्धी दिएको जवाफप्रति आपत्ति जनाए ।
उनले भने, ‘तपाईको मन्त्री परिषद्ले निर्णय गर्ने संविधान संशोधनको कुरा हुनसक्छ, अध्यादेशको सिफारिस हुन सक्छ । विधेयकसँग तपाईको साइनो छैन् । मन्त्रीपरिषद्ले विधेयक प्रतिनिधि सभामा पठाउने हो, उत्पत्ति हुने राष्ट्रिय सभामा हो, तपाईको राष्ट्रपतिसँग सिधैँ लाने कुनै अधिकार छैन् । संवैधान विपरित काम भएको हो ।’
त्यस्तै एमाले सांसद रघुजी पन्तले, प्रधानमन्त्रीले अदालतमा प्रवेश गरेको विषयलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । लगत्तै बोलेका नेपाली कांग्रेसका सांसद विश्व प्रकाश शर्माले प्रधानमन्त्री बोल्दै गर्दा पटकपटक सदन अवरुद्ध गराइनु राम्रो नभएको भन्दै आपत्ति जनाए ।
अहिले अवस्था सामान्य भएपछि प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।