नेपाल र भारतका पत्रकारहरुको धरानमा मैत्रीपूर्ण भेटघाट भएको छ । नेपाल पत्रकार महासंघ सुनसरी शाखा र नेश्नल जर्नलिस्ट एसोसियसन मध्यपुराबीच सोमबार धरानस्थित पत्रकार महासंघ सुनसरीको शाखा कार्यालयमा भेटघाट भएको हो । 

नेश्नल जर्नलिस्ट एसोसियसन, मध्यपुराको अधिवेशनका लागि पर्यटकीयस्थल भेडेटार आएका पदाधिकारीहरुलाई शाखा सुनसरीले स्वागत र सुखद बिदाइ गरेको छ । अतिथि भारतीय पत्रकारहरुलाई सुनसरी शाखाका तर्फबाट रुद्राक्ष्यको माला लगाई स्वागत गरिएको थियो ।  

Nepal_India_Journalist_Dharan (2)

आयोजित कार्यक्रममा बोल्दै नेश्नल जर्नलिस्ट एसोसियसन, मध्यपुरा बिहारका अध्यक्ष डा. सुलेन्द्र कुमारले नेपाल र भारतबीचको वैदिक र पौराणिक सम्बन्ध रहेको उल्लेख गरे । । उनले नेपाल भारतको सम्बन्धलाई थप सुदृढ गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए । नेपाल भारत पत्रकारहरुको सम्बन्ध सुदृढ गर्न नेश्नल जर्नलिस्ट एसोसियसन मध्यपुराले हार्दिकता निर्वाह गर्ने बताए । उनले भारत भ्रमणका लागि समेत सुनसरीका पत्रकारलाई निमन्त्रणा गरे ।  

नेपालका तर्फबाट बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले नेपाल भारतका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पत्रकारहरुको मैत्रीपूर्ण र भगिनी सम्बन्ध निर्माण गर्न सुझाव दिए । उनले भारतीय पत्रकारहरुलाई औपचारिक रुपमा आमन्त्रण गरी धरानका पर्यटकीय स्थलहरुको रिपोर्टिङ गराउने र प्रचारप्रसारका लागि प्रोत्साहित गर्न महासंघ सुनसरीलाई सल्लाह दिए । उनले मध्यपुराका प्राचीन र पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सुनसरीका पत्रकारलाई अवसर दिन अनुरोध गरे । 

Nepal_India_Journalist_Dharan (3)

पत्रकारका बीच संयोजनका काम गरेका भारतीय पत्रकार रविकान्तले मध्यपुरामा रहेको शृङ्गी ऋषिको आश्रमस्थलमा साउन महिनामा लाग्ने मेलाका अवसरमा मध्यपुरा भ्रमणका लागि नेश्नल जर्नलिस्ट एसोसियसनका तर्फबाट आमन्त्रण गरे । उनले आफू १० वर्षअघि धरानमै रहेर पत्रकारिता गरेको प्रसंग उल्लेख गर्दै यहाँका धार्मिक पर्यटकीयस्थललाई उजागर गर्न आफूले भूमिका निर्वाह गरेको बताए । 

२८ जना भारतीय पत्रकारहरुलाई स्वागत गर्दै सुनसरी शाखाका सल्लाहकार सन्तोष काफ्लेले क्रसबोर्डर रिपोर्टिङका क्षेत्रमा समेत दुई मुलुकका पत्रकारबीचको एकता आवश्यक रहेको उल्लेख गरे । भेटघाटमा  नेश्नल जर्नलिस्ट एसोसियसनका संरक्षक चन्दनकुमारलगायत भारतका राष्ट्रिय तथा स्थानीय मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो । सुनसरी शाखाका तर्फबाट सहसचिव भोला श्रेष्ठ, तीर्थ कार्की, पूर्व अध्यक्ष केशव घिमिरेलगायत धरानका पत्रकारहरुको उपस्थिति रहेको  थियो । 

धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले भारतीय पत्रकारलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए ।  

Nepal_India_Journalist_Dharan (4)