किरात राई यायोक्खा धरान–१३ ले साकेला उभौली चाडको विधिवत् सामापन गरेको छ ।
वैशाख २२ गते विजयपुरस्थित हाङ बुद्धिकर्ण राईको दरबार परिसरमा रहेको साकेला थानबाट विधिवत् रुपमा पूजा गरेर सुरु गरिएको साकेला उभौलीलाई मंगलबार समापन गरिएको छ ।
वडाको उदय–स्वस्तिका मार्गस्थित रहेको यायोक्खाको आफ्नै सभाहलमा आयोजना गरिएको साकेला उभौली समापन कार्यक्रममा साकेला शिली प्रदर्शनी गरियो ।
सोही अवसरमा संस्थाका संरक्षक एबंम आर्थिक सहयोगीदाता अमरहाट निवासी ८७ वर्षीय दलबहादुर थुलुङ (डिबी) लाई किराती संस्कार अनुसार सम्मान गरिएको थियो ।
हालै निर्माण सम्पन्न किराया खिमको दोस्रो तलाका लागि थुलुङले ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष सिर्पाल चाम्लिङ राईले जानकारी दिए ।
थुलुङलाई कार्यक्रमका प्रमुख अतिथि यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले सम्मानित गरे । प्रमुख अतिथि राईले कोशी नाम विरुद्धको पहिचानदी आन्दोलनले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
उनले आफ्नो अस्तित्व रक्षाका निम्ति जस्तो सुकै कदम चाल्न तयार रहेको बताए । परिस्थितिअनुसार आन्दोलनका लागि तयारी अवस्थामा रहन पनि मातहतका किरायाका भातृ, भाषिक, नगर र वडा कार्यसमितिहरुलाई निर्देशन दिए ।
उभौंली मैझारोमा किराया, सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, किराया धरान नगर सचिव लक्ष्मी राई, किरात राई साँस्कृतिक कलाकार संघका सुनसरी अध्यक्ष हेमन राई, चाम्लिङ खाम्बातिमका सुनसरी उपाध्यक्ष केशवीर राईलगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।