जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने निर्णय प्रति व्यङ्ग्य गर्दै एमाले संसद गाेकुल बास्काेटाले निर्वाचन आयोग नै खारेज गरे बत्ती निभाउन पनि नपर्ने र मतपत्र चपाउन पनि नपर्ने बताएका छन् ।
आगामी वर्षको बजेटमाथि संसदमा जारी छलफलमा भाग लिँदै उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति चर्को आक्रोश पोखेका हुन् । उनले भने ‘मतदातामा नाम पनि आफै थप्ने । मतदान केन्द्र पनि आफै तोक्ने । निर्वाचन आयोगै पनि खारेज गरे हुन्छ अब किन भने बत्ती निभाउन पनि झन्झट परेन क्या पुलिस लगाउँदै भयो नि त सत्तापक्षलाई, चपाउन पनि परेन ।’ उनले भने ‘अनि लोकतन्त्रको दुहाई । सुशासनको दुहाई । यो खालको कुरा गरेर हिँड्नु भएको छ ।’
अधिकांस विकासका काम केपी ओली नेतृत्वको सरकारमा भएका दाबी गर्दै बास्कोटाले अहिलेको बजेटले आम नागरिकलाई निराशा थपेको जिकिर गरे ।
‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौँ, नाचौँला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन ।’ उनले भने ।
बजेट निर्माणको बेलामा अहिले मुसो नपसे पनि कागज गडबड गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको उनको भनाई छ ।