धरानमा खानेपानीको अभाव भुसको आगोको रूपमा छ । छिटफुट रूपमा बोलिए पनि विगतको जस्तो आन्दोलन गरिहालेका छैनन् । अहिले सबै पर्ख र हेरको नीतिमा बसेको देखिन्छ । धरानको खानेपानी विगतको भन्दा कहालीलाग्दो अवस्थामा अभाव छ । जसलाई चरम् अभाव भन्न सकिन्छ । यसको गतिलो उदाहरणको रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना विद्यार्थीलाई एक सातासम्म दिएको बिदाले पुष्टि गर्दछ । २९ वर्षे इतिहासमा आजसम्म बीपी प्रतिष्ठानमा खानेपानी अभाव भई विद्यार्थीलाई बिदा दिएको रेकर्ड छैन । यो पहिलो रेकर्ड हो । यसले पनि धरानमा खानेपानी अभावलाई पुष्टि गर्दछ । तर, पनि किन हिजोको जस्तो आवाजहरू कम सुनिएका छन् त ? पक्कै पनि अहिले धरान नगरका प्रमुख हर्कराज राईको खानेपानीमा अख्तियार गरेको नीतिलाई पर्खिरहेका छन् । खानेपानीकै मुद्दा लिएर चुनाव जितेका नगरप्रमुख राईले पदभार ग्रहण गर्दै खानेपानीका निम्ति भनेर हरेक शनिबार श्रमदान गर्दै आइरहेका छन् । यसबाट कति पानी आयो, आएन यो छुट्टै विषय हो । तर, उनको पानीप्रतिको हुट्हुटी चाहिँ जीवित छ भन्ने देखाउँछ ।

धरानका नगरप्रमुखले खानेपानी ल्याउन जे जति गरिरहेका छन्, त्यो दीर्घकालीन छ कि छैन भन्ने प्रश्न हो । पानीको जोहो गर्न खोज्नु र पानी ल्याउनुृ फरक–फरक विषय हो । किनकि एउटा निश्चित लक्ष्य र उद्देश्यका साथ काम गरिएन भने त्यसको प्रभावकारितामाथि प्रश्न उठ्छ । आजको एक वर्षमा खालि पानी पानी भनेर काम गरे पनि चुहावटलाई नियन्त्रण गर्नका लागि कुनै पहलकदम भएको पाइँदैन । किनकि निवर्तमान नगरप्रमुख तिलक राईले आफ्नो कार्यकाल छाड्दै गर्दा विज्ञहरूले दिएको सुझावका आधारमा धरानमा ४० प्रतिशत जति पानी चुहावट हुने कुरा उठान गरिएको थियो । त्यसलाई निरूपण गर्नका लागि तत्कालै काम गर्नुपर्ने भनी सुझाएको थियो तर, हालसम्म त्यसतर्फ वर्तमान नगरप्रमुखले ध्यान दिएको पाइँदैन । पानीको जोहो गर्नुमात्रै समस्याको समाधान होइन भन्ने कुरा नगरप्रमुखले बुझ्नुपर्छ । धरानमा खानेपानीको चरम् अभावको  कारक तŒव चुहावट र निकृष्ट व्यवस्थापन नै हो । यी दुई कारणले पनि धरानमा खानेपानी अभाव झेल्दै आएको अवस्था छ । यसतर्फ नगरप्रमुखको कत्ति पनि ध्यान गएको पाइँदैन, न त धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशकलाई नै चुहावट नियन्त्रणका लागि भनेर निर्देश गरेको अवस्था छ । यस्तो अवस्थामा धरानमा खानेपानीको चरम् अभाव नभएर कहाँ हुन्छ ?

पत्रकारिताको सिद्धान्तमध्ये एउटा सिद्धान्त छ–मौनताको चक्रिय सिद्धान्त । यो सिद्धान्तले भन्छ–बहुमत एउटा विचारबाट निर्देशित भइरहँदा अल्पमतसँग फरक विचार भए पनि आफ्नो धारणा वा विचार समाजमा प्रस्तुत गर्दैन । मौन बसिदिन्छ । अहिले धरानमा यही सिद्धान्त लागू भएको अवस्था छ । बुद्धिजीवी, विद्वान्, लब्धप्रतिष्ठित व्यक्तिहरू पानीका विषयमा बोल्न सकिरहेका छैनन् । बोलिहालेमा नगरप्रमुखका मान्छेहरूबाट प्रहार हुने डरका कारण पनि चुपचाप बसिरहेका छन् । यसले धरानलाई घाटा भइरहेको छ कि छैन ? यस विषयमा यहाँका बुद्धिजीवीहरूले बुझेका छन् त ? एउटा दीर्घ लक्ष्य नभएको व्यक्तिले जे गरिरहेको छ, त्यसलाई टुलुटुलु मात्रै हेरिरहने हो ? कहिलेसम्म यो सिद्धान्त अख्तियार गर्ने हो ? यस विषयमा अब ढिला भइसकेको छ । सबैले यस विषयमा आवाज उठाउन जरुरी छ । अब पनि पर्ख र हेरको नीतिमा बस्ने हो भने अझै धरान पछाडि पर्ने निश्चित छ । यसबारेमा सबैले एक भएर आवाज उठाउन जरुरी छ, नत्र धरान सधैँ पछाडि पर्ने निश्चित छ । यसका लागि पनि आवाज उठाउने कि ?