नगरले नचिन्दा धरान वडा नं. १७ मा अवस्थित सप्तरङ्गी पार्कलाई धरानेहरूले पनि बिर्सिसकेका छन् । अठ्ठाईस वर्ष पुरानो पार्क वर्षौँदेखि बेवारिसे अवस्थामा छ । २०५४ अघि र पछिका नपा नेतृत्वले बनाएका केही संरचना र चौताराहरू मर्मत सम्भारका अभावमा लेउ लागेर भत्किएका छन् । ढलेका रुख र काठहरू जताततै मक्किएका छन् । चारैतिरका पर्खाल लडेका छन् । उत्तरतर्फ जग्गा प्लटिङ गर्नेहरूले भत्काएको पर्खाल वडाको पहलमा अस्थायी रूपमा बारिए पनि अरू त्यसै छन् ।

पार्क क्रमिक रूपमा झाडी, जङ्गल र खण्डहरमा परिणत बन्दै गरेको देख्ने साक्षी भएर स्मरण गर्दा २०५१ सालभन्दा अघि पार्क भएको ठाउँमा बगेको धमिलो सर्दुमा पौडी खेलेको सम्झिन्छु । वर्षामा खानेपानीको अभावलाई खोलाको जरुवा पानीले टार्दथ्यो भने खोला बौलाउँदा छेउछाउका टोलहरू सरबरे, सरस्वती, डाँडाघोपा, फोक्ल्याण्ड टापुलगायतलाई रातभरि अनिदो पनि बनाउँथ्यो ।

केन्द्र सरकारको पहलमा सर्दु सिरानमा बाँध बाँधेर खोलालाई डाँडाघोपाको उत्तर सर्दुमा मिसाइयो । त्यसपछि खाली भएको सोलिङमुनिको करिब बैसठ्ठी बिघा भूभाग तत्कालीन स्व. मेयर ध्यानबहादुर राईको नेतृत्वमा धरान नपा अन्तर्गत ल्याउने काम भयो । त्यसबेला घोपा क्याम्पको माथिल्लो भागमा राईहरूको चण्डीस्थल भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने योजना रोकिइरहेको थियो । कतिपयको बाधा विरोधबीच अन्ततः चण्डीस्थललाई सोही जग्गाको सिरानमा सारियो ।

भौगोलिक हिसाबले पुछारमा रहे पनि विभिन्न समयमा भएका परिवर्तनका आन्दोलनमा यहाँका स्थानीयहरू अग्रभागमा रहन्थे र छन् । त्यसबेला सुकुम्बासीका नाममा जग्गा अतिक्रमण तीव्ररूपमा बढिरहेको थियो । स्थानीयहरू त्यसबाट चिन्तित थिए । स्व. मेयर राईले ‘यस वडामा के गर्न सकिन्छ म भएको बेला गरौँ’ भनी प्रस्ताव गरे । स्थानीयले यही जग्गामा पार्क बनाउन सुझाए । ‘हाम्रो गौचरनमा पार्क बनाउन दिन्नौँ’ भन्दै केहीले जग्गा नापजाँच गर्ने क्रममा रोक्न खोज्दा तनावको स्थिति नै सिर्जना भएको थियो । धेरै जनताहरू पार्क निर्माणको पक्षमा भएकाले उनीहरूको केही चलेन ।

सप्तरङ्गी पर्यटकीय क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आध्यात्मिक केन्द्रका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवको अद्वितीय नमुना बनाउने महŒवाकाङ्क्षी परियोजना थियो । जस्मा हिन्दु, किरात, बौद्ध, इशाई र मुस्लिमहरूको प्रतीक झल्किने मण्डला, समावेशी जातजातीय प्रतिमा र सहिद स्मारक, अन्तरधार्मिक सङ्ग्रहालय, ज्येष्ठ नागरिक एवम् बालबालिकाका लागि पजल पार्क, साझा उत्सव आयोजनास्थललगायत, शैक्षिक तथा पिकनिक स्थल, चौतारा आदिको परिकल्पना गरिएको थियो । यसको दिगोपनका लागि प्रवेश शुल्क, सङ्ग्रहालय शुल्क, हललगायतबाट शुल्क र दाताबाट स्रोत जुटाउने योजना थियो ।

पार्कले तत्कालीन वडाध्यक्ष स्व. सुभाष राई, सदस्य स्व. मानबहादुर पौडेललगायत सदस्यहरूको याद दिलाउँछ । अध्यक्ष राई नर्सरी लगाएर आफै बिरुवा रोप्न र निगरानी गर्न खट्थे । उनको लगाव देखेर कतिपयले पार्कलाई ‘सुभाष पार्क’ पनि भन्थे । अनुबन्धित मूर्तिकार स्व.योगेन्द्र सुब्बा पार्कबारे स्थानीयसँग कुरा गरिरहन्थे । कलाकारद्वय स्व. सुब्बा र स्रष्टा फाउण्डेशनका विक्रमश्रिले बनाएको प्रतिमाहरू, दुबो, फूल र बिरुवाहरूले गर्दा मरुभूमि झैँ लाग्ने बगर हेर्नलायक बन्दै थियो । मानिसहरू पिक्निक खान, हेर्न आउँथे । निर्वाचित नपा भङ्ग भएपछि कार्यकारी प्रमुख बिन्दु गुरागाईंको पालामा स्थानीय धनबहादुर विष्टको संयोजकत्वमा उपभोक्ता समितिमार्फत् पार्क निर्माण अगाडि बढे पनि त्यसपछि देखि ठप्प भयो ।

२०५३ सालदेखि रखवाला गरिरहेका पार्कका एकल कर्मचारी सीताराम राईको आफ्नै व्यथा छ । त्यसबेला नपाबाट चौकीदारका रूपमा चारसय र जिल्ला वन कार्यालय इनरुवाबाट वन संरक्षकका रूपमा छ सय गरी जम्मा हजार रुपैयाँ तलब पाउँथे । डिएफओ कार्यालयमा नभेटिँदा पटक–पटक इनरुवा धाउनु पर्ने । आतेजाते भाडामै पैसा सकिने । लागूऔषध दुव्र्यसनीहरूले अखडा बनाउने र रुखका हाँगा चोर्नेहरूले हैरान पारेकाले पश्चिमतर्फ भत्किएको पर्खाल राईले नै बाँसले बारेका रहेछन् । कति पटक जानकारी गराए पनि न कसैले चासो दिए, न त कोही आएर नै हेरे ।

धेरै पछाडि बसेका बस्तीहरू पनि बाटो, ढल, पानी, बत्ती जस्ता पूर्वाधारमा धेरै अगाडि बढिसके । १९१९ सालतिरै झोडा फँडानी गरी बसेका यहाँका बस्तीहरूमा सहरी विकासको न्यूनतम् पूर्वाधार अझै पनि छैन । आर्थिक, सामाजिक, शैक्षिक हिसाबले पिछडिएको र व्यावसायिक रूपमा पनि सम्भावना न्यून भएको यस ठाउँमा पार्कको निर्माणले आशा जगाएको थियो । तर, यसको निरन्तरताको लागि कसैले स्वामित्व लिनै चाहेन ।

विकासका अवसरहरूमा समान पहुँच पु¥याउन जनप्रतिनिधहरूमा समावेशी विकासको भिजन चाहिन्छ । आर्थिक, शैक्षिक, सामाजिक रूपमा पछाडि परेको भूगोल तथा वर्ग, समुदायलाई मूलधारमा ल्याउने ठोस् कार्ययोजना हुनु पर्दछ । स्व. मेयर राईले सार्वजनिक सम्पत्तिको सम्बद्र्धन गरी धरानलाई दिए साथै उराठलाग्दो बस्तीमा विकासको सुरुवात गरे । यद्यपि पछिकाहरूले आफ्नो कार्यकालमा यो स्रोतलाई उपयोग गर्नबाट चुके ।

यसअघिको नपा जनप्रतिनिधिले पार्क पुनःनिर्माण गर्ने भनेर डिपिआर तयार भएको सुनियो । सोही बेला काठमाडौँका पूर्वमेयर केशव स्थापित आएर पार्क हेरे रे भनेको सुन्दा अब बन्ला कि भन्ने लागेको थियो । अहिले यसलाई जनश्रमदानबाट बहुसांस्कृतिक पार्क बनाउने भनेर वर्तमान मेयरको व्यक्तिगत प्रस्ताव सञ्चारमाध्यमबाट आएका छन् । बहुसांस्कृतिक पार्कको प्रस्तावप्रति वडाध्यक्षहरूले खरो विमति राखेका छन् । श्रमदानबाट बनाउने भन्नुको तात्पर्य पार्कले अझै पनि बजेट नपाउने हो कि भन्ने पनि बुझिन्छ ।

आफैले मात्र जस लिने ‘राजनैतिक स्वार्थको द्वन्द्व’ का कारण अझै कति समय पार्क कुरूप अवस्थामै रहने हो । फलस्वरूप २०३५ सालमा पुरानो घोपा गाउँ पञ्चायतबाट उपमहानगरपालिकाका बासिन्दामा स्तरीकृत भई सहरको रमझम पर्खेर बसेका यहाँका स्थानीयले कहिलेसम्म स्यालको हुइयाँ सुनिरहनुपर्ने हो थाहा छैन ।