धरान । धरान उपमहानगरपालिका ३ नम्बर वडाबाट प्रतिबन्धित औषधिसहित मङ्गलबार तीन जनालाई पक्राउ गरिएको छ ।
धरानस्थित इलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले जाँचको क्रममा तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–३ का २३ वर्षीय जितेन्द्र दास, सोही वडाका २७ वर्षीय अमन राई र धरान–१५ का ३५ वर्षीय दीपेन राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार आरोपितको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २ सय ७६ ट्याब्लेट, स्पास्पेन २ सय ८१ ट्याब्लेट बरामद गरिएको छ । साथै उनीहरूको साथबाट ८ हजार ७ सय ४० रुपैयाँ पनि बरामद गरिएको उनले जानकारी दिए । कारबाहीका लागि तीनै जनालाई औषधि व्यवस्था विभाग विराटनगर पठाइएको उनले जानकारी दिए ।
यस्तै लागूऔषध मुद्दामा फरार भोजपुर अरुण गाउँपालिका–६ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने दिलकुमार भन्ने कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०७९ भदौ ५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा सजाय पाएका २८ वर्षीय राईलाई सोमबार पक्राउ गरिएको हो । उनलाई अदालतमा हाजिर गरी कैद भुक्तानका लागि जिल्ला कारागार भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।