उनले एउटा अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुको कारण र आधार खुल्नु पर्ने बताए । उनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाको विरोध गरिरहँदा विधेयककै विरोध गरेको, नागरिकताबाट वञ्चित भएकाहरूलाई नागरिकता दिनु हुँदैन भनेको भन्ने जस्ता कु प्रचार गरिएको भन्दै, नेपाली नागरिक बाबु आमाका छोरा छोरीले नागरिकता पाउनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रपति भन्ने व्यक्ति होइन, संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्दा के आधारमा गरियो, भन्ने कुरा जवाफ चाहिन्छ संसद्लाई, त्यो संसद्को बुझ्न पाउने अधिकारको कुरा हो । यसको बारेमा संसद् र आम जनताले जान्न पाउनुपर्छ भन्ने कुरा हामी निरन्तर लागिरहेका छौ, यो भोटको कुरा होइन ।’
त्यस्तै उनले सरकारले एकलौटी ढङ्गले बनाएको बजेटले निराशा मात्रै बढाएको उनको टिप्पणी समेत गरे ।
मन्त्रीले बजेट छलफलमा आएको सुझाव महत्त्वपूर्ण हुन्छ भनेर सोचेको भए त्यसको फाइदा सबैलाई हुने उल्लेख गर्दै एक्लौँटी ढङ्गले निमार्ण भएको बजेटले निराशा मात्र थपेको उनको तर्क छ ।
उनले भने, ‘बजेटको छलफलमा हामीले सुझावहरू दिएका थियौ, दलहरूका सुझाव महत्त्वपूर्ण हुन्छ भनेर सोच्नु भएको भए बजेट अलि फरक ढङ्गले आउन सक्थ्यो कि भन्ने लागेको छ । त्यसको फाइदा सबैलाई हुने थियो तर जसरी एक्लौँटी ढङ्गले निमार्ण भएको छ । यो बिग्रिँदै गएको आर्थिक अवस्थाका बिच जुन निराश जनतालाई, व्यवसायहरूलाई कुनै आशा दिन सक्दैन । आशा जगाउने कुनै काम गर्न सक्दैन ।’
उनले बजेट निर्वाचन क्षेत्रलाई हेरेर होइन देशको भविष्य हेरेर निमार्ण गर्नुपर्ने भन्दै अहिलेको बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको बताए ।
उनले भने, ‘बजेट बनाउने भनेको देशको भविष्य हेरेर कुनै पार्टी र निर्वाचन क्षेत्रलाई हेरेर होइन । अनुमान, अनुदान र ऋणमा आधारित बजेट छ, यति उठ्ला, यति अनुदान पाइएला र यति ऋण लिउँला भनेर बनेको बजेट ठिक ठाउँमा खर्च गर्न सक्नुपर्छ ।’