नेपालमा पछिल्लो समय चौपायामा देखिएको लम्पी स्किन रोगले महामारीको रूप लिएको छ । सरकारी तथ्याङ्कका आधारमा यो रोग एक महिनाकै अवधिमा व्यापकरूपमा फैलिएको छ । मोरङबाट २०७७ साल चैत महिनाबाटै पुष्टि भए पनि पछिल्लो एक महिनामा यो रोगको सङ्क्रमण दर ह्वात्तै बढेको छ । सरकारी आँकडाअनुसार देशका ७१ जिल्लामा फैलिएको छ । प्रदेशको १३ जिल्लामा फैलिएको पशु सेवा विभागको तथ्याङ्क छ । महामारीको रूप लिइरहे पनि सरकार चिन्तित भएको देखिँदैन । यो झण्डै मानिसमा फैलिएको महामारी कोरोनाजस्तै गरी फैलिएको छ । यस रोगबाट प्रत्येक गोठका गाई, भैँसी, गोरु, तथा राँगामा समस्या देखिएको छ । किसानका लागि अति नै दुःखदायी कुरा हो । यसप्रति सरकार बेलैमा सजग बन्नुपर्छ । अहिले यस रोगविरुद्ध अनुमानका भरमा खोप लगाइरहेको अवस्था छ । त्यसकारण पनि भयावह स्थितिलाई रोक्नका लागि पनि पशु सेवा विभागले कदम चाल्नै पर्ने अवस्था छ ।

पशु सेवा विभागका अनुसार वैशाखको अन्तिम साताभिर सङ्क्रमित गाईभैँसीको सङ्ख्या १५ हजारको हाराहारीमा मात्रै थियो । हाल यो सङ्ख्या ५ लाखको हाराहारीमा पुगिसकेको छ । ३५ जिल्लामा फैलिएको यो रोग हाल ७१ जिल्लामा पुगेको छ । अब केही जिल्ला मात्रै बाँकी रहेको अवस्था छ । यसले किसानको गोठ नै रित्याउला कि भन्ने अर्को चिन्ता पनि थपिएको छ भने केही स्थानमा किसानको गोठ पनि रित्तिएको अवस्था छ । हिमाल, पहाड र तराई सबै जिल्लाका चौपाया यस रोगबाट प्रभावित बनेको देखिन्छ । महामारीको रूपमा फैलिइसक्दा पनि निवारणका उपायहरूबारे चिन्तित नबन्नु चाहिँ अर्को चिन्ताको विषय बनिरहेको छ । यसले किसानलाई ठूलै क्षति पु¥याएको छ । करोडौँ रुपैयाँको नोक्सानी बेहोर्नु परेको अवस्था छ । २०७७ सालमा रोग देखिँदा नै सतर्कता अपाउनु पर्ने थियो । त्यो बेलामा सचेतता नअपनाउँदाको परिणाम अहिले भोगिरहनु परेको छ । जसरी कोरोनाको सङ्क्रमण सुरु हुँदा अधिकांश देशहरू चिन्तित थिएनन्, त्यसैगरी चौपायामा फैलिएको यो रोगमा पनि चिन्ता गरेको अवस्था देखिँदैन । पशुचिकित्सकहरूले लम्पी स्किन रोगबाट हुने चौपायाको मृत्युदरमा कमी भए पनि अन्य कुरामा असर पु¥याउने गरेको भन्दै सुझाव दिइरहेका छन् । यसले पनि चिन्तन गर्नुपर्ने कुरातर्फ इङ्गित गरेको छ ।

‘लम्पी स्किन’ लागेका गाईभैँसीको छालामा डाबर आउने, गिर्खा फुटेर घाउ हुने, आँखामा कचेरा देखिने, खुट्टाको आँख्ला सुनिने, खुट्टा, खुट्टा नटेक्ने, ह्याकुलो सुनिने, उच्च ज्वरो आउने, घाँस, पानी नखाने, ¥याल काढ्ने समस्या देखिने गरेको छ । यस्ता समस्या भएमा तत्कालै किसानहरूले उपचारतर्फ लाग्नुपर्छ । हेर्दा ठूलो क्षति नभए पनि दूधजन्य उत्पादनमा समस्या हुने गरेको आँकडाहरू आइरहेका छन् । यो हुनु भनेको पनि थप क्षति हो । त्यसकारण किसान आफै पनि सचेत हुने बेला आएको छ । राज्यको मुख ताकेर बस्दा क्षति भइसकेको हुनेछ । राज्यले पनि यो रोगको उपचार के हो भन्ने विषयमा जानकारी गराउन आवश्यक छ । कमभन्दा कम क्षति हुने वातावरण सिर्जना गराउनका लागि सरकार र सरकारमातहतका निकायहरूले ध्यान दिनुपर्छ । किसानलाई कमभन्दा कम क्षति गराउने वातावरण सिर्जना भए मात्रै उनीहरूले राहत पाउनेछन् । राज्यले आफ्नो दायित्व निर्वाह गरिरहँदा किसान पनि उत्तिकै चनाखो भएर काम गर्नुपर्ने हुन्छ । लम्पी रोगले आजको दिनमा महामारीको रूप लिइसकेको छ । गोठ नै रित्तिने अवस्था आउन नदिन सबै पक्षबाट उचित पाइला चालियोस् ।