धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ २३ गते गरेको एउटा निर्णय तीस वर्षे इतिहासमा पहिलो चोटी थियो । पानीको चरम अभावका कारण बीपीमा अध्ययरत विद्यार्थीहरूलाई जेठ ३० गतेसम्म बिदा दिइएको सूचना प्रकाशित भयो । एसिस्टेन्ट डिन डा. भिम्मी सिंहले जारी गरेको सूचनाले सबैको ध्यान तान्यो ।
बीपीको तीस वर्षे इतिहासमा खानेपानीका कारण पठन–पाठन नै बन्द गर्नुपरेको यो नै पहिलो भएको त्यहाँ अध्यापनरत चिकित्सकहरू बताउँछन् । पानीको चरम अभाव हुनुमा सबैभन्दा बढी दोष इन्जिनियरिङ शाखाको रहेको अध्यापनरत चिकित्सकहरूको भनाइ छ । ‘कमजोर व्यवस्थापन नै प्रमुख कारण हो’ एक चिकित्सकले भने, ‘इन्जिनियरिङ शाखा सेवामुखी भन्दा पनि ठेक्कामुखी छ ।’
पानी अभाव हुनुमा बीपी प्रतिष्ठानले नेपाल खानेपानी संस्थानसँग २०५४ सालमा गरेको सम्झौता पनि एउटा कारण रहेछ । तत्कालीन समयमा गरिएको सम्झौताअनुसार बीपी प्रतिष्ठान आफैले तरहराको पानीपिया क्षेत्रमा निर्माण गरेको दुई वटा ‘वेल’ को हेरचाहलगायतमा नेपाल खानेपानी संस्थानसँग वार्षिक ५८ लाख रुपैयाँ दिने सम्झौता गरिएको रहेछ । हाल त्यो बढेर ८२ लाख रुपैयाँ पुगेको छ । त्यसबारे जानकार एक चिकित्सक भन्छन्, ‘त्यो रकम व्यवस्थापनका लागि भन्दा पनि शाखाका कर्मचारीले हेरेबापत बीपीले वार्षिक तिर्ने रकम हो ।’ बीपीले संस्थानलाई पम्प चलाउने, विद्युत्को खर्च र हेरालुको तलबमा त्यो रकम बुझाउँदै आएको छ ।
उनका अनुसार प्रतिष्ठानका लागि आपूर्ति गरिने वेलमा सधैँजसो पम्पलगायत बिग्रिने समस्या आउने गरेको छ । ब्लाष्टकर्मीले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले पानीका लागि गरेको आन्दोलनको क्रममा इन्जिनियरिङ शाखाका प्रमुख मदन साहलाई बुझ्दा पम्प बिग्रिएकाले पनि पानी आपूर्ति हुन नसकेको बताएका थिए । उनले दुई दिनभित्रमा समस्या समाधान हुने दाबी गरे तापनि एकाएक एसिस्टेन्ट डिन डा. सिंहको सूचनाले पानी आपूर्ति हुन नसकेको पुष्टि हुन्छ ।
अनधिकृत बसाइ प्रमुख कारण
बीपी प्रतिष्ठानको आफ्नै ऐन र नियमावली छ । त्योसँगै कार्य समिति (कास) ले बनाएको छुट्टै निर्देशिका पनि छ । उक्त निर्देशिकाले तोकेको दायराभन्दा बाहिरका मानिसहरू प्रतिष्ठानका क्वार्टरहरूमा बस्न नपाउने व्यवस्था छ । निर्देशिकाको व्याख्याअनुसार शिक्षक, कर्मचारी, विद्यार्थीबाहेक पनि अनधिकृत रूपमा ठूलो सङ्ख्यामा मानिसहरूको बसोबास रहेको छ ।
प्रतिष्ठानका पूर्व प्रशासनमा काम गरिसकेका एक कर्मचारीसँग बुझ्दा उनले भने, ‘कति सङ्ख्यामा बस्छन् भन्नेसम्मको बीपीसँग एकिन तथ्याङ्क छैन । यहाँ चिकित्सक, शिक्षकले कोठा नपाइरहेका बेला गार्डसम्मले कोठा पाएको अवस्था पनि छ ।’ बीपी प्रतिष्ठानमा सुरक्षागार्डको ठेक्का हाल भीआइपी कम्पनीले सम्हालिरहेको छ । ठेक्कामा रहेका सुरक्षागार्डहरूलाई बीपीको निर्देशिकाअनुसार प्रतिष्ठानभित्र आवास सुविधा रहेको छैन । तर, केही सुरक्षागार्डले आवास सुविधा लिइरहेको ती कर्मचारीको दाबी छ । सुरक्षागार्डहरू झण्डै २० जनाको हाराहारीमा आवास सुविधा लिएर बसेका छन् । जुन निर्देशिकाभन्दा बाहिर हो ।
यता ठेकेदार कम्पनी भीआइपीका प्रमुख टेक लोहनीलाई बुझ्दा सम्झौतामा आवास सुविधा नभएको बताए । ‘आजभन्दा २०–३० वर्षअगाडि जसरी तसरी बसेका रहेछन् । खासमा बीपीले कसरी दियो, त्यो मलाई थाहा छैन ?’–उनले भने । उनका अनुसार एउटा युनिट दिने भन्नेसम्म सम्झौता भए पनि मासिक १२ हजार रुपैयाँ तिर्नुपर्ने भनिएपछि आफूहरू त्यहाँ बसेनौँ । लोहनीले प्रतिष्ठानमा आवास सुविधा लिने सुरक्षागार्ड झण्डै ३० देखि ४० को हाराहारीमा रहेको बताए ।
प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार निर्देशिकाको व्याख्याअनुसार आवास सुविधा पाएका चिकित्सक, कर्मचारी, विद्यार्थी गरी १७ हजारको हाराहारीमा छन् । ‘छिटफुट रूपमा केही अन्य पनि बसेका हुन सक्छन्, त्यो कुरालाई नकार्न सकिन्न’ उनले भने, ‘कानूनी रूपमा टाइट गर्दै लगेको अवस्था छ ।’ उनले सुरक्षागार्डको हकमा कानूनी रूपमा बस्न नपाइने व्यवस्था रहेको बताए । ‘तर, पहिलादेखि नै भएकोले एकैचोटि निकाल्न पनि गाह्रो भइराखेको छ’ उनले भने, ‘म्यानेजमेन्ट शिथिल भएको अवस्थामा त्यस्तो भएको रहेछ । अहिले क्रमिक रूपमा सुधार गर्दै लगिरहेका छौँ ।’
चुहावट अर्को कारण
बीपी प्रतिष्ठानको अस्पताल क्षेत्रमा हुने पानीको चुहावट पनि खानेपानी अभावको प्रमुख कारण रहेको चिकित्सकहरू बताउँछन् । यसबारेमा इन्जिनियरिङ शाखाका प्रमुख मदन साह भन्छन्, ‘त्यो कुरा हामी स्वीकार्दैनौँ, ट्वाइलेटलगायतका धारा हामीले अपडेट राखेका हुन्छौँ ।’
उनका अनुसार अस्पतालमा आउने धेरै बिरामी तथा बिरामीका आफन्तहरूले धारा खोल्ने अनि खुल्ला छाडिदिने कारणले केही चुहावट हुनसक्छ । ‘आयो, युज गर्यो खुलै छाड्यो, यस्तो समस्या छ’–उनले भने । उनका अनुसार १५ देखि २० प्रतिशतसम्म चुहावट हुन्छ भन्ने त लिखित दस्तावेजमा पनि राखेकै हुन्छ ।
स्थानीयले पनि उपभोग
बीपी प्रतिष्ठानका लागि वितरित पानी प्रतिष्ठान वरपर रहेका स्थानीयले पनि उपभोग गर्दै आइरहेका छन् । अझ धरान उपमहानगरपालिकाले बर्सेनि ठेक्का लगाउँदै आएको सुन्दर बजारमा पनि प्रतिष्ठानकै पानी दैनिक खपत हुने गरेको छ । त्यसबाहेक हाल निर्माण हुँदै गरेको क्यान्सर भवन, प्रसूति भवनमा कार्यरतले पनि पानीको खपत गर्दै आइरहेका छन् । यसबाहेक प्रतिष्ठान हाताको दिल्ली पब्लिक स्कुलले पनि प्रतिष्ठानकै पानी उपभोग गर्दै आइरहेको छ ।
पानीको माग
बीपीमा दैनिक ४० लाख लिटर पानीको माग छ । बीपीको पानीको प्रमुख स्रोत शिवजट्टा, भूमिगत स्रोत र खानेपानी व्यवस्थापन बोर्ड हो । इन्जिनियरिङ शाखाका प्रमुख साहका अनुसार शिवजट्टाबाट दैनिक १५ लाख लिटर आपूर्ति हुनेमा हाल ३ लाख लिटर आपूर्ति भइरहेको छ । भूमिगत स्रोतमा दुई वटा वेलमध्ये ५ लाख लिटर दैनिक आउनुपर्नेमा बिग्रिएका कारण डेढदेखि २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । त्यस्तै खानेपानी व्यवस्थापन बोर्डले १८ देखि २० लाख लिटर दैनिक पानी आपूर्ति गर्नुपर्नेमा हाल ८ देखि ९ लाख लिटर मात्रै आपूर्ति गर्दै आएको उनले जानकारी दिए ।