चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएका छन् । पछिल्लो छ वर्षको तथ्यांक हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृंखला र वृत्तचित्र छायांकन गरिएका छन् ।

केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृंखलाको छायांकन हुनेक्रम बढिरहेको छ । 

अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रको संख्या बढेको धेरै भएको छैन । २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायांकन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत् नेपालको राम्रै चर्चा भयो ।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृंखलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायांकन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृंखला काठमाडौँदेखि पोखरासम्म छायांकन गरे । 

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए । ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाए । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, संयोजक रेग्मीले भने । 

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै फर्जी, उचाइलाई नेपालमा छायांकन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायांकनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायांकनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायांकन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ । 

‘मुस्ताङमा छायांकन गर्ने तय भएको छ । यहाँ बीस दिन छायांकन गर्ने उहाँहरुको योजना छ । यसले नेपालको पर्यटन प्रवद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ’, उनले भने । 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत् नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शंकर पाण्डेले बताए । ‘विशेषतः छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ’, पाण्डेले भने । 

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएका छन् । पछिल्लो छ वर्षको तथ्यांक हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृंखला र वृत्तचित्र छायांकन गरिएका छन् । उल्लिखित संख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् ।