गणित विषयलाई सरल, प्रायोगिक, सिर्जनात्मक बनाउने विषयमा धरानमा छलफल भएको छ ।
धरान १५ स्थित शिक्षा सदन माविमा धरानका गणित विषय शिक्षकहरुसँग विदेशी विज्ञहरुले छलफल गरेका छन् । काउन्सिल अफ म्याथम्याटिक्स एजुकेशनको सहकार्यमा शुक्रबार सदन स्कुलमा अमेरिकामा गणित शिक्षणको अवस्थाका बारेमा शिक्षकहरुले जानकारी लिए । छलफलमा शिक्षकहरुले नेपालमा गणित विषय शिक्षणका समस्याबारेमा खुलेर बोले ।
छलफलमा अमेरिकी र अस्ट्रियाली विज्ञहरुले अन्तर्राष्ट्रियस्तरमा गणित शिक्षण–सिकाइमा अवलम्वन गरिएका नवीनतम अभ्यास, प्रभावकारिता तथा उपलब्धिका बारेमा चर्चा गरे ।
गणितको शिक्षा र ज्ञानको धरातल कमजोर रहेको अन्तक्र्रियामा सहभागी भानुस्मृति माविका एक शिक्षकले बताए । गणित शिक्षणको लक्ष्य विद्यार्थीको मस्तिष्क तिखार्ने नभएर परीक्षा केन्द्रित रहेको शिक्षकहरुको गुनासो थियो ।
गणितका पुराना ‘फर्मुला’ लेखिदिने, अद्यावधिक नहुने, शिक्षकले २/४ वटा समस्या हल गरिदिने र विद्यार्थीलाई पुनः त्यही गर्न लगाउने परम्परागत परिपाटीबाट गणित शिक्षक माथि उठ्न नसकेको शिक्षकहरुले अनुभव राखेका थिए ।
‘गणितका हिसाब प्रश्नपत्रको संगालोबाट लिने र प्रश्न सोध्ने र जाँच्ने गर्दा पनि धेरै विद्यार्थी गणित विषयमा फेल भइरहेका छन् । गणितका सूत्र निकाल्ने नयाँ तरिका विद्यार्थीले पाएका छैनन् ।’ उपस्थित एक शिक्षक विज्ञलाई प्रश्न गरे,‘गणितका हिसाब जीवनोपयोगी समेत हुन नसकेको र नजान्ने विद्यार्थीले गणित कक्षामा हीनताबोध गर्ने र आत्मविश्वास गुमाउने गरेका छन्, तपाईंहरुको देशमा गणित शिक्षण कसरी गर्नुहुन्छ ?’
गणितको मद्दतले नै विज्ञानको विकास भइरहेको तर्फ गणित विषय शिक्षक र विद्यार्थीहरुको धारणा विकास गर्नु पर्ने अमेरिकी विज्ञले बताएका थिए । उनीहरुले ‘गणितको ‘आइडिया’ र ‘स्किल’ भएका व्यक्तिले आफ्नो कामलाई बढी वैज्ञानिक र कुशलतापूर्वक सम्पन्न गर्न सकेका कुरा विद्यार्थीलाई बुझाउनु पर्ने कुरा राखे ।
‘हाम्रो अध्ययनअनुसार नेपालमा तपाईंहरु आई, यु, वी, अर्थात् शिक्षकहरु धेरै बोल्ने, शैक्षणिक क्रियाकलापमा विद्यार्थी कम सहभागी हुने गर्नुहुने रहेछ । तर हामी यु, वी, आई अर्थात् पहिले समस्याहरु विद्यार्थीलाई दिने, समाधानको प्रयास उनीहरुले नै गर्ने र अन्त्यमा अनुमोदन गर्ने वा मूल्यांकन शिक्षकले गर्ने परिपाटी अवलम्वन गर्छौं ।’ एक अमेरिकी विज्ञले भने ।
गणित शिक्षणलाई दैनिक व्यवहारसँग जोडेर व्यक्तिको आलोचनात्मक सोच, विश्लेषण गर्ने क्षमता, समस्या समाधान गर्ने सीप र क्षमताको विकास गर्न उत्साहित गर्नुपर्ने र गणित विषय देशको विकासका लागि ठूलो पुँजी भएको बताउन सक्नुपर्ने अन्तर्क्रियामा आवश्यक्ता औंल्याइएको छ ।
अमेरिकी विज्ञहरुलाई शिक्षा सदन माविले सञ्चालन गरिरहेको कक्षाहरु, अवलम्वन गरेका प्रविधिहरुसँग साक्षात्कार गराएको विद्यालयका प्राचार्य अमर बस्नेतले जानकारी दिए ।