नेकपा एमालेका महासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गठबन्धन सरकारले देशमा अराजकता मच्चाएको आरोप लगाएका छन् ।
नेकपा एमाले प्रशिक्षण विभाग धनकुटाले शुक्रबारदेखि आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले नेकपा एमालेको नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको आरोप लगाए ।
यो अराजकताको शुरुवात गठबन्धनले संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएससँगै शुरु भएको उनको भनाइ थियो ।
‘गठबन्धन र गठबन्धनको सरकारले गर्नहुने–नहुने सबै काम गरेकाले देश अराजकतातिर गयो’– ज्ञवालीले थपे । गठबन्धन र सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ, देशको बजेट निर्माणमा मनपरी गरेकाले देश अराजकतासँगै आर्थिक संकटमा समेत फसेको उनको भनाइ थियो ।
‘मुलुकमा नागरिक एवम् व्यापारीहरु आर्थिक मन्दीले गर्दा थप निराश छन्,’ज्ञवालीले भने,
‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्दछन्, यस्तो अराजकता अहिले गठबन्धन सरकराले गर्दा भएको हो ।’
अहिलेको सरकार कोशी प्रदेशको नामाकरणमा एमाले नेताहरुलाई आक्रमण गर्ने हतियारका रुपमा प्रयोग भई रहको ज्ञवालीले जिकिर गरे । यस्तो अवस्थामा खबरदारी गरेर अघि बढ्ने जिम्मेवारी नेकपा एमालेको काँधमा आइपरेको उनको भनाइ थियो ।
पाख्रिबास कृषि अनुसन्धान केन्द्रको तालिम हलमा २८ गतेसम्म चल्ने प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने, प्रदेश स्कुल विभाग प्रमुख गुरु बराललगायत केन्द्रीय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धनकुटाका स्कुल विभाग प्रमुखका अध्यक्ष मनोज राईले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला कमिटीबाट ३० जना र विभिन्न जनवर्गीय संगठनहरुबाट १० जना गरी ४० जनाको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी धनकुटाले जनाएको छ ।