उत्पादकत्व बढाउनकै लागि प्रयोग हुँदै आएको रासायनिक मल र विषादीका कारण प्राङ्गारिक खेती पछि पर्दै गएको छ । रसायनयुक्त सामग्रीलगायत कीटनाशक, रोगनाशक विषादीहरूको प्रयोग बढेपछि नेपालीको परम्परागत खेती प्रणालीसँग जोडिएर आएको प्राङ्गारिक खेती लोप हुँदै गएको हो ।
मानिस, जीवजन्तु, बोटबिरुवा, मित्रजनक किरा र सूक्ष्म जीवाणुलगायत पर्यावरणका लागि प्राङ्गारिक खेती आवश्यक रहेको बाली संरक्षण प्रयोगशाला कोशी प्रदेश झुम्काका प्रमुख मुकेश यादव बताउँछन् । दिगो कृषि विकासमा प्राङ्गारिक खेती आवश्यक छ तर, बढी उत्पादनका लागि रासायनिक सामग्रीको प्रयोग बढाउँदै लगिएको छ । प्रकृतिमैत्री प्राङ्गारिक खेती प्रणालीलाई सँगसँगै लगिएन भने भावी दिनमा पर्यावरणमा ठूलो असर पुग्न जानेछ ।’
कृषि काम गर्ने जनशक्ति कम हुँदै जाँदा कृषिमा रासायनिक सामग्रीको प्रयोग बढ्दै गएको छ । प्राङ्गारिक खेतीलाई समयानुकूल प्रवद्र्घन गर्दै कृषिमा दिगोपन ल्याउन सकिन्छ ।
प्राङ्गारिक खेती किन गर्ने ?
रासायनिक मल र विषादीकोअत्यधिक प्रयोगले माटो बिग्रिँदै गएको छ । कृषि उत्पादनका लागि उर्वर मानिएका स्थानहरूमा माटो विषाक्त हुँदै मृत अवस्थामा पुगेका छन् । माटोलाई स्वस्थ र जीवित राखी माटोको प्राकृतिक बनोट तथा बुनोट कायम राख्न सहयोग गर्ने माटोका जीवित जीवाणुहरू न्यून हुँदै गएका छन् । माटोलाई जीवित राख्न प्राङ्गारिक खेती आवश्यक रहेको कृषि विज्ञहरू बताउँछन् ।
विषादी र रासायनिक मलले शत्रुजीवका साथसाथै मित्रजीवलाई पनि नाश गरी प्राकृतिक वतारणलाई दूषित गराएको छ । प्राकृतिक वातावरणलाई संरक्षण गर्नका लागि प्राङ्गारिक खेतीको महŒवपूर्ण भूमिका छ । आजको परिप्रेक्षमा प्राङ्गारिक खेती संसारभरि नै जीवनको बाटोको रूपमा स्वीकार्य भएको छ ।
आधुनिक खेती प्रणालीमा प्रयोग गरिएका रासायनिक मल, विषादी र विभिन्न प्रकारका रसायन हरूको असरले गर्दा मानवलगायत सम्पुर्ण प्रणालीजगत्को स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । त्यसैले विषादीरहित र रसायनरहित खेती प्रणालीमा सुधार ल्याउनका लागि जैविक खेती प्रणाली अपनाउने बेला आएको छ ।
प्राङ्गारिक खेती कसरी गर्ने ?
गाउँघरमा भएका स्थानीय स्रोत साधनको प्रयोगबाट प्राङ्गारिक खेतीलाई बढाउन सकिन्छ । कम्पोष्टमल, जैविकमल, गड्यौलीमल, बोकासिमल, हरियोमल, पिना, खरानीलगायतका मलको प्रयोग गरी प्राङ्गारिक खेती गर्न सकिन्छ । प्राङ्गारिक खेतीमा एकीकृत व्यवस्थापन गर्न पशुपालन, माछापालन, माहुरीपालन आदिलाई कृषि र पशुपालनसँग सहकार्य र सह–अस्तित्वको सिद्घान्त अपनाउनु पर्छ ।
प्राङ्गारिक खेती प्रणालीमा बिउविजन सञ्चय तथा भण्डारण, मलखाद ब्याबस्थापन ,रोग कीरा ब्याबस्थापनका क्षेत्रमा चलिआएको स्थानीय प्रविधि, ज्ञान र सीप तथा अनुभवलाई प्रयोग गर्न प्रोत्साहित गर्न सकिन्छ ।
कम्पोष्ट मल
कम्पोष्ट मलका लागि झारपात, पातपतिङ्गरदेखि लिएर पशुपंछीका मलमूत्रलाई कम्पोष्टमलमा परिणत गर्न सकिन्छ । दलहन बालीका अवशेष, कलिला झारपातहरू, असुरो, तीतेपाती, वनमारा, चिलाउने, उत्तिस, जलकुम्भी आदिलाई कम्पोष्ट मल बनाउने सोत्तरका रूपमा प्रयोग गर्न सकिन्छ ।
हरियो मल
हरियो बोटबिरुवाहरू खेती गर्ने स्थलमै उमारेर फूल फुल्नु अगावै माटोमा पुरी कुहाएर वा बनस्पतिलाई बाहिरबाट ल्याई हरियो अवस्थामा नै खति गर्ने स्थलमा पुरेर हरियो मल बनाउन सकिन्छ । हरियो मल बनाउन हलक्कै बढ्ने र माटोमा मिसिएर छिटो कुहिने खालका तीतेपाती, असुरो, वनमारा, इपिल, एजोला, शिरिष, तारामण्डल र खिर्राेजस्ता बालीको प्रयोग गर्न सकिन्छ ।
गोठे मल
गाईवस्तुको गोबर, मूत्र तथा सोत्तरलाई मुख्य स्रोतका रूपमा लिई सोत्तर, स्याउला मिसाई वा नमिसाई गोठनजिक तयार गरिन्छ । यो नेपालमा प्रयोग गरिने मुख्य मल हो ।
झोल मल
तीतेपाती, असुरो, वनमारा, केराको सुप्लो आदि कोसेबाली र गाईस्तुको मलमूत्रबाट झोल मल तयार पारिन्छ । यो मल बालीहरूको पात तथा डाँठलाई स–साना टुक्रा बनाई प्लाष्टिकको ड्रममा काँचो गोबर, खरानीसँग पानी तथा गाईवस्तुको पिसाब राखी एक महिनासम्म अँध्यारो कोठामा राखेर तयार पारिन्छ ।
गड्यौला मल
गड्यौलालाई कृत्रिम तरिकाले पाली हरियो घाँसपात, फलफूल आदिका फोहोर खुवाई गड्यौले मल उत्पादन गरिन्छ । यसलाई भर्मीकल्चर भनिन्छ । हाल नेपालमा पनि भर्मीकल्चर प्रविधि अपनाएर भर्मी कम्पोष्ट उत्पादन गर्न थालिएको छ ।
बाली संरक्षका लागि जैविक विषादीको प्रयोग
प्राङ्गारिक खेतीमा रोग, किरा मार्न रासायनिक विषादी प्रयोग हुँदैन । रासायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग गर्न सकिन्छ । वनस्पतिको प्रयोगबाट पनि रोग, किराको नियन्त्रण गर्न सकिन्छ । बालीमा लाग्ने हानिकारक किराहरूलाई मार्न ब्याक्टेरिया, ढुसी, भाइरस तथा नेमाटोडजन्य उपयोगी सूक्ष्म जीवको प्रयोग गरी जैविक विषादी तयार पारिन्छ । यसका लागि असुरो, बकैनो, बोझो, सुर्तीजस्ता स्थानीय वनस्पतिको प्रयोग गर्न सकिन्छ ।
प्राङ्गारिक खेतीका फाइदा
प्राङ्गारिक खेतीबाट उत्पादित खाद्यान्नले रोग र विकृतिमा कमी ल्याउने तथा वातावरणलाई समेत स्वच्छ राख्न सकिने यादव बताउँछन् । माटोको उर्वराशक्ति बढ्ने, प्राङ्गारिक खेती गर्दा प्रायः गाउँघरमा नै पाइने गाईभैंसी, कुखुरा आदिको मल, घाँसपात, पतिङ्गर कुहाएर यो मल तयार गर्न सकिन्छ । यसबाट माटोमा रहेको मित्रजीवको सङ्ख्या बढ्न गई उत्पादन र खासगरी बिरुवाले खाद्यपदार्थ लिने शक्तिमा पनि विशेष वृद्घि हुने पाइएको छ ।
यस खेतीबाट माटोमा अम्लीयपना नबढ्ने भएकाले बिरुवालाई आवश्यक सम्पूर्ण खाद्य तŒव सन्तुलितरूपमा प्राप्त हुने भएकाले उत्पादन बढी गुणस्तरीय हुन्छ । माटोको पानी सोसेर राख्न सक्ने क्षमतामा वृद्धि भई अत्यधिक सुख्खा मौसममा पनि उत्पादन गर्न सकिन्छ ।
प्राङ्गारिक खेतीबाट तत्कालै आम्दानी नदेखिए तापनि दीर्घकालीन रूपमा यसले माटोको उर्वराशक्तिमा सकारात्मक प्रभाव पारी समग्र कृषि प्रणालीलाई व्यवस्थित, उत्पादनमूलक र दिगो बनाउँछ ।
प्राङ्गारिक खेती गरेको स्थानमा पानीको मुहान वा जमिनमुनिको पानीमा विषादी तथा नाइट्रेट तŒव सम्पर्कमा नआउनाले वा चुहिएर नमिसिने भएकाले त्यस्ता स्थानमा पानी शुद्घ हुने यादव बताउँछन् । यस्तो पानी प्रयोग गर्नाले दूषित पानीबाट हुने रोग तथा अनेकौँ विकृतिबाट सजिलैसँग बच्न सकिन्छ । प्राङ्गारिक खेती गर्दा स्थानीय जातका बालीको प्रयोग गर्दा राम्रो उत्पादन र सो अनुसारको आम्दानी पनि हुने भएकाले स्थानीय जातका बालीनाली लोप हुन पाउँदैन ।
सरकारको भूमिका
प्राङ्गारिक खेती नेपालको परम्परागत खेती प्रणाली हो । मानव स्वास्थ्य र पर्यावरणका हितका लागि यसलाई प्रवद्र्धन गर्न आवश्यक भइसकेको छ । यसका लागि तीनै तहका सरकारले प्राङ्गारिक खेती प्रणालीलाई टेवा पु¥याउने खालका कार्यक्रमहरूमा कृषकहरूलाई सहभागी गराई किसानलाई प्रोत्सान स्वरूप अनुदानको व्यवस्था गरेर कृषि पेशामा आबद्ध गराउनसके केही हदसम्म कृषकहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित हुने थिए । प्राङ्गारिक खेतीका लागि राज्यले समयमै नीति र योजना बनाएर अनियन्त्रित विषादीको वैकल्पिक समाधान खोज्नुपर्ने बेला आएको छ । एकीकृत बाली शत्रुजीव व्यवस्थापनको अवधारणा ल्याएर गाउँ–गाउँमा अभियान चलाउनुपर्ने कषिविज्ञहरू सुझाउँछन् ।
(लेखक कार्कीः कृषि पत्रकार हुन् ।)