विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहजरूपमा रोजगारी पाउने उनको भनाइ थियो ।
‘अझै पनि नेपालको शिक्षा सैद्धान्तिकभन्दा माथि उठ्न सकेको छैन’ उनले भने, ‘एउटा हातमा डिग्रीको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भएमा विश्वको जुनसुकै मुलुकमा गए पनि रोजगारी पाउने अवस्था छ । तर, हामीकहाँ डिग्रीको सर्टिफिकेट मात्रै छ, भोकेस्नल ट्रेनिङको सर्टिफिकेट छैन ।’ उनले विद्यार्थीलाई जुन क्षेत्रमा रुचि छ, त्यसकै तालिम दिनुपर्नेमा जोड दिए । उनले महानगरले पनि प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
मदरसाहरूको भौतिक विकासका लागि महानगरले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले सीमित स्रोत र साधनको बावजुद पनि महानगरले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । विराट राजाको दरबार क्षेत्रमा अवस्थित किचकबध पोखरी, मण्ठापोखरी र रानीपोखरीको निर्माण धमाधम भइरहेको छ । बहुवर्षीय आयोजनाका रूपमा रहेका उक्त पोखरीहरूको निर्माण र सौन्दर्यीकरण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने नगरप्रमुख कोइरालाले बताए ।
उनले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेकाले साथ दिन सबैलाई आह्वानसमेत गरे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।