देउराली ।  धरानका १० राजनीतिक दलले बीपी स्वस्थ विज्ञान प्रतिष्ठानलाई अस्पतालमा सीमित बनाउने षडयन्त्र भएको भन्दै  आपत्ति जनाएका छन् । आइतबार  उपमहानगरपालिकामा रहेका दश राजनीतिक दलका नगर अध्यक्ष तथा सभापतिहरूको हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै   प्रतिष्ठानलाई अस्पतालको रूपमा मात्रै सीमित गर्ने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

उनीहरूले  नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरूलाई मात्र गाभेर काठमाण्डौँबाट नै केन्द्रीकृत रूपमा सञ्चालन गर्ने र प्रतिष्ठानलाई अस्पतालको रूपमा मात्रै सीमित गर्ने षडयन्त्र भइरहे महसुस भएको भन्दै  गम्भीर ध्यानाकर्षण गरेको हो ।

विज्ञप्तिमा भनिएको छ '  सरकारले नीति कार्यक्रम तथा बजेट व्यक्तव्यमा यस्तो विषय ल्याउनु र बीपी प्रतिष्ठानको ऐन खारेज गर्ने प्रस्ताब गर्नाले सरकारको मनसाय संघीय लोकतान्त्रिक गणतन्त्रको उपहास गर्दै अघि बढेको देखिन्छ । यस प्रतिष्ठान नेपालको मात्र हैन दक्षिण एसियाकै नमुना पूर्वाधार रहेको संस्थालाई विघटन गरी षडयन्त्रपूर्वक वीर अस्पताल (न्याम्स) को उपकुलपति नियुक्ति प्रक्रिया अगाडी बढाइएको र बिपी प्रतिष्ठान धरानको उपकुलपति नियुक्ति अगाडी नबढाउनु ले गम्भीर आशंका उत्पन्न भएको छ ।'

नयाँ संविधानले शिक्षा र स्वास्थ्यमा नागरिकको सहज र सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक मौलिक हक स्थापित भइसकेको अवस्था तथा देश संघियता र विकेन्द्रीकरणमा गइरहेको बेला सरकारले  प्रतिष्ठानलाई प्रस्तावित छाता ऐनमा राख्न खोज्नुले  लोकतान्त्रिक गणतन्त्रको उपहास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 प्रतिष्ठानलाई प्रस्तावित छाता ऐनमा नराखी छुट्टै स्वास्थ्य विश्वविद्यालय बनाउन र  उपकुलपति नियुक्ति प्रक्रिया अगाडी बढाउन दलहरूले माग गरेका छन् । उनीहरूले त्यस्तो नभए  सरकारप्रति गम्भीर असहमति जनाउँदै आन्दोलन गर्न बाध्य हुने कुरा कुरा पनि विज्ञप्ति मार्फत अवगत गराएका छन्  ।

विज्ञप्तिमा नेपाली काँग्रेस धरानका  सभापति, श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेड लिम्बू, जनता समाजवादी पार्टी धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष सूर्यबहादुर भट्टराई, नेकपा (एस) धरान अध्यक्ष रेवती रमण राई,  नागरिक उन्मुक्ति पार्टी एकीकृत, धरानका का.वा. अध्यक्ष अन अर्जुन खड्का, राष्ट्रिय जनमुक्ति पार्टी, सुनसरी जिल्ला सचिव  सिताराम राई,  राष्ट्रिय प्रजातन्त्र पार्टी, धरान अध्यक्ष दोर्जे शेर्पा,  संलोराम, सघीय लिम्बुवान मञ्च, धरान नगर अध्यक्ष मोहन तिगेला र किरात खम्बुवान साझा पार्टी, धरान नगर अध्यक्ष सुरेशकुमार राईको हस्ताक्षर रहेको छ ।