विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई प्रविधिसँग जोडेर अगाडि बढाउन थालेका छन् । यहाँका विद्यालयहरू विद्यार्थीहरूलाई प्राविधिक ज्ञान हासिल गराउन प्रविधिमैत्री उपकरणहरू राखेर अगाडि बढेका हुन् ।

विद्यार्थीहरूलाई प्रविधिको बारेमा जानकारी गराउँदै प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याव स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ल्यावको उद्घाटन गरे । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याव स्थापना गरिएको हो ।

अत्याधुनिक उपकरणसहित ल्यावमा १६ वटा कम्प्युटर जडान गरिएको छ । सो ल्यावबाट प्रविधिमा आधारित शिक्षण सिकाइ, विभिन्न गोष्ठी, सेमिनार, प्रशिक्षणलगायतका कार्य गर्न सकिनेछ । ल्याव स्थापना भएसँगै वडानम्बर १९ का सार्वजनिक विद्यालय तथा सो वडामा रहेका अन्य विद्यालयसमेत लाभान्वित हुने प्रमुख कोइरालाले बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै शिक्षालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको दाबी गरे ।

वडानम्बर १९ विकासमा पछाडि परेकासमेत उनको भनाइ थियो । अबको शिक्षालाई प्रविधिसित जोड्न नसके पछाडि परिने भन्दै प्रमुख कोइरालाले भने, ‘अहिलेको सूचना प्रविधिसँग जो व्यक्ति जोडिन्छ, उसले विश्व बुझ्छ । अबको समय भनेको कम्प्युटरको समय हो । प्रविधिमार्फत् घरमै बसेर पनि रोजगारी पाउने अवस्था छ ।’ उनले  विद्यालयस्तरदेखि नै सूचना र प्रविधिप्रति विद्यार्थीलाई पोख्त बनाउनुपर्नेमा जोड दिए । वडानम्बर १९ का अध्यक्ष श्याम घिमिरेले महानगरपालिका भएर पनि विकासको दृष्टिले अत्यन्तै पछाडि परेको वडाको विद्यालयलाई ल्याव स्थापनाका लागि छनौट गरेकोमा धन्यवाद दिए । उनले विद्यालयमा करिब ७५ प्रतिशत सीमान्तकृत परिवार बाँतर समुदायका बालबालिका अध्ययन गर्ने बताए । शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको विकास अन्य वडाको तुलनामा १९ नम्बर वडामा कम भएको गुनासो गरे । उनले कम्प्युटर ल्यावलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

महानगरका शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराईले एक वडा एक नेतृत्व विद्यालयको अवधारणाअनुसार सार्वजनिक माविमा कम्प्युटर ल्यावको सञ्चालनमा ल्याइएको जानकारी दिए । आगामी वर्षदेखि सबै वडाका अन्य विद्यालयमा पनि कम्प्युटर ल्याव विस्तार गर्ने महानगरको योजना रहेको उनले बताए ।

ल्याव सञ्चालनका लागि विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूलाई १२ दिने तालिमसमेत सञ्चालन गरिएको थियो । डिजिटल ब्रिजेज फोर नेपालले २ वर्षसम्म सघनरूपमा प्राविधिक सहयोग उपलब्ध गराउने ब्रिजेजका प्रोजेक्ट को–अर्डिनेटर प्रकाश श्रेष्ठले बताए । त्यस्तै ब्रिजेजकी उत्सिका अधिकारीले डिजिटल ब्रिजेज फोर नेपालको बारेमा जानकारी गराए । विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा कम्प्युटर ल्यावले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।