ओम राउत निर्देशित फिल्म आदिपुरुष यसै साताबाट प्रदर्शनमा आउँदै छ । यो फिल्मको टिजर सार्वजनिक भएदेखि फ्यानहरूमा उत्साह, प्रश्न उठिरहेको छ । फिल्म कहिले हनुमानको रूपलाई लिएर त कहिले रावणमाथि प्रश्न उठेर विवादमा रहँदै आएको छ । विवाद बढ्दै आएपछि निर्माताहरुले फिल्ममा केही परिवर्तन गरेर फिल्म रिलिज हुन लागेको हो ।
निर्माताहरूले प्रत्येक सो मा हनुमानका लागि एक सिट आरक्षित गर्ने घोषणा गरेका थिए । उक्त घोषणापछि हनुमानका लागि आरक्षित सिटको छेउमा बस्नेले टिकटको वास्तविक मूल्य भन्दा बढी मूल्य तिर्नुपर्ने हुनसक्ने भन्दै सामाजिक सञ्जालमा प्रचार भइरहेको थियो ।
उक्त कुराको खण्डन गर्दै टी–सिरिजले सामाजिक सञ्जाल मार्फत उक्त कुरामा सत्यता नभएको जानकारी गराएको छ । टी–सिरिजले आदिपुरुषको टिकट मूल्यलाई लिएर मिडियामा भ्रामक समाचारहरू आएको भन्दै हनुमानका लागि आरक्षित सिटको छेउको सिटको दरमा कुनै भिन्नता नहुने बताएको हो ।
फिल्मको टिकट अग्रिम बुकिङ पनि सुरु भइसकेको बक्स अफिसले जनाएको छ । पहिलो दिनको अग्रिम बुकिङमा फिल्मले करिब एक करोड भारु कलेक्सन गरेको बताइएको छ । यस अघि राम चरण, रणवीर कपुर र अभिषेक अग्रवालले फिल्मका लागि १० हजार टिकट किनेर वितरण गर्ने घोषणा गरेका थिए ।
फिल्म आदिपुरुषको प्रमोसनको क्रममा पनि निकै विरोध भइरहेको छ । हालै फिल्मकी मुख्य अभिनेत्री कृति सेन तिरुपति मन्दिरको दर्शन गर्न गएकी थिइन् जहाँ ओम राउतले उनलाई चुम्बन गरेको विषय सामाजिक सञ्जालको चर्चाको विषय बनेको थियो ।