आर्थिक वर्ष २०७८/७९ मा धरान उपमहानगरपालिकाको कुल बेरुजु ४२ करोड ३० लाख ५ हजार देखिएको छ ।
‘महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९’ अनुसार आव ०७७/७८ मा कुल बेरुजु रकम ३९ करोड १६ लाख २ हजार रहेकामा आव २०७८/७९ मा ३ करोड बढी बेरुजु रकम थपिएको छ ।
बर्सेनि थपिंदै गएको बेरुजुमा आर्थिक वर्ष ०७७/७८ मा १२ करोड ४० लाख ४८ हजार देखिएकामा आव ०७८/७९ मा ८ करोड २२ लाख ३१ हजार थपिएको छ ।
तथ्यांकअनुसार धरान उपमहानगरपालिकामा बर्सेनि बेरुजु बढ्दै गएको छ ।
उपमहानगरले आव ०७८/७९ मा ५ करोड ३५ लाख २८ हजार रुपैयाँ फछ्र्यौट गरेको देखिन्छ । नगरले आव ०७७/७८ मा मात्र २ करोड ४१ लाख ५२ हजार रुपैयाँ फछ्र्यौट गरेको थियो । तथ्यांकअनुसार उपमहाननगर अनियमित रकमलाई फछ्र्यौट गर्न उदासिन देखिएको छ ।
थपिएको आन्तरिक आय
धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को तुलनामा आव ०७८/७९ मा आन्तरिक आय वृद्धि गरेको देखिन्छ ।
आव ०७७/७८ मा आन्तरिक आय २१ करोड ९० लाख ७४ हजार ५ सय ९४ रहेका मा आव ०७८/७९ मा आन्तरिक आय २९ करोड १७ लाख ३५ हजार ८ सय २७ रुपैयाँ रहेको छ । तथ्यांकअनुसार आर्थिक वर्षमा ८ करोड बढी आन्तरिक आय वृद्धि गरेको देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले धरान उपमहानगरपालिकामा वित्तीय विवरणको यथार्थता, फरक हिसाब, आन्तरिक नियन्त्रण प्रणालीलगायतमा प्रश्न उठाएको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन गर्नुपर्नेमा नगरेको महालेखाले उल्लेख गरेको छ । त्यस्तै उपमहानगरको लेखा ढाँचाको प्रयोग र आर्थिक कारोबार सूत्रमा अभिलेख नभएको अवस्था देखिएको समेत टिप्पणी गरेको छ ।