पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई विद्यार्थीहरूको समूहले कालोमसी छर्किदिएका छन् ।

नेपाल विद्यार्थी संघले सोमबार सेवा आयोगका अध्यक्ष दाहाललाई कालोमसी छर्किदिएका हुन् । 

सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमालिन्य ढंगले प्रक्रिया चालेको, उमेर हद ४५ वर्ष राखेको र पटकपटक औपचारिक रुपमा उठाएको माग सम्बोधन नगरेको विद्यार्थीको आरोप छ । 

उनीहरुले विद्यार्थीले राखेको मागलाई बेवास्ता गर्दै समस्या झन् बढाउने कार्य गरेकोले बाध्य भएर यो अवस्थामा उत्रिनु परेको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए । पूर्वाञ्चल विश्व विद्यालयलाई भर्ती केन्द्र जस्तो बनाएर जथाभावी गर्न थालिएकोले आफूहरु विरोधमा उत्रिएको पोखरेलले बताए । 

Mahesh Raj Dahal_PU_Blastkhabar

उनले भने, ‘आन्दोलन गर्ने चेतावनीलाई समेत बेवास्ता गर्दै सेवा आयोगले परीक्षा संचालन गरेपछि हामी बाध्य भएका हौं, विधिसंगत नभएको परीक्षा पनि रद्द गरिनुपर्छ ।’ 

पूवि सेवा आयोगको क्वार्टरमा पुगेका विद्यार्थीले अध्यक्ष दाहाललाई कालोमसी छर्किदिएका थिए । विश्व विद्यालयको आर्थिक अवस्थाले नधान्ने गरी भएको नियुक्तिको प्रक्रिया शुरु गर्न विभिन्न पदमा परीक्षा गराएको र उमेर हद ४५ वर्ष राखिएको प्रति आफूहरुको आपत्ति रहेको नेविसंघ सभापति पोखरेलले जनाएका छन् ।