केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा ‘लु’ को प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरूका लागि जाडो जत्तिकै जोखिम गर्मीयाममा पनि हुने गर्दछ । गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बूढापाका÷मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन् ।

अझ मुटुजन्य समस्या भएका व्यक्तिहरूका लागि त झन् उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढ्छ । अति गर्मीले मुटुका बिरामीको ज्यानसमेत जान सक्छ । तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयाघात) बढिरहेको छ । यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचाप बढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ । बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ । गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने सङ्केत हुनसक्छ ।

बढी समय चर्काे घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठ्यारो हुने, कहिलेकाहीँ बेहोस हुने स्थितिसम्म आउन सक्छ । जोखिम समूहमा परेकाहरूले अत्यधिक गर्मीमा पर्नबाट जोगिनु पर्छ । गर्मीयाममा मुटुको समस्या भएका व्यक्तिले मात्र नभई स्वस्थ व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ । पानी मानव शरीरको महŒवपूर्ण तŒव हो । यसले स्वस्थ व्यक्तिको आधादेखि दुईतिहाइ तौल ओगटेको हुन्छ । खासगरी गर्मीयाममा शरीरबाट बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ । शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन् । बूढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ । शरीरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ । रगत बाक्लो हुँदा जम्ने डर हुन्छ । त्यतिबेला हृदयाघात वा मस्तिष्काघात हुने सम्भावना बढी हुन्छ ।

शरीरमा पानीको मात्रा कम हुनु भनेको यसले शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुनु हो । डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ । डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ । यसबाट मुटुको धड्कन बढेर हार्ट फेलसमेत हुन सक्छ । त्यसैले डिहाइड्रेसनका कारण डिहाइड्रेसनले मुटुरोगीको ज्यानै पनि जानसक्ने हुन्छ । मुटुको औषधि खाइरहेका व्यक्तिहरू गर्मीयाममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरिन्छ । शरीरमा पानीको कमी लामो समयसम्म रह्यो र प्रारम्भिक लक्षणबाट पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि लिएर हृदयाघातको जोखिम हुन्छ ।

शरीरका विभिन्न अङ्गमा रगत पु¥याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा मुटुलाई बढी दबाव हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, हातखुट्टालगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ । मुटुसम्बन्धी जोखिम समूहमा रहेकाहरूलाई गर्मीयाममा पनि विशेष सावधानी अपनाउनु पर्छ । मुटुको औषधि सेवन गरिरहेका र पाकाहरूले गर्मीयाममा बढी चलखेल गर्दा शरीरमा पानीको कमी हुन्छ र रक्तचाप कम हुन्छ । यसले गर्दा मस्तिष्कमा रगतको प्रवाह कम हुन्छ र सम्बन्धित व्यक्ति बेहोस हुनसक्छ । गर्मीमा काम गर्दा अचेत भई कतिपय मानिसको मृत्यु भएको समाचार सुन्ने गरिन्छ । जब हाम्रो मुटुले सामान्य प्रवाहमा रक्तसञ्चार गर्न सक्दैन भने यस्तो अवस्थामा मानिस बेहोस हुने गर्छन् ।

गर्मीले गर्दा मानिसको रक्तचाप तल–माथि हुनसक्छ । दुवै अवस्था हुनु जोखिमपूर्ण नै हुन्छ । रक्तचापको औषधि सेवन गरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुनसक्ने भएकाले औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रो हुन्छ । कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ । उच्च रक्तचापका रोगीलाई बढी गर्मीमा बढी मिहिनेत हुने र पसिना बगाउने काम गर्नु हुँदैन । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावा आउने ठाउँमा निस्कनुपर्छ, तरल पदार्थ सक्दो लिनुपर्छ । उभिइरहनु हुँदैन । यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसो गर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ । साह्रै गर्मी हुँदा चिसो पानीमा नुहाउँदा शरीरलाई शीतलता हुन्छ ।

तापमान वृद्धिको सिधा असर मानिसको मुटुमा पर्ने हुँदा शरीर चिसो बनाउन पसिना आवश्यक हुन्छ । पसिनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ । उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको भित्री तापक्रम बढ्न गई अत्यधिक पसिना आउने, वाक्वाक लाग्ने, टाउको दुख्ने, मांसपेशीहरू बाउँडिने, बेहोस हुनेजस्ता समस्या आउन सक्छ । उच्च रक्तचापका बिरामीहरू गर्मीयाममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा काम गर्दा रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ । पर्याप्त निन्द्रा, तनाव कम गर्ने, रक्तचाप नियमित परीक्षण गर्ने, ५० वर्ष पुगेका, मोटोपना, मुटुरोगी, उच्च रक्तचाप भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय
प्रशस्त पानीको सेवनः  काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुन÷चिनी, पानी र कागतीको सर्बत खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । पानीले शरीरको तापक्रम सामान्य राख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ । नियमित आवश्यकताअनुसार एक–दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरीरमा पानी पर्याप्त भए नभएको बुझ्न आफ्नो पिसाब सफा छ छैन हेर्नुपर्छ । अन्य स्वस्थ मानिसले पनि गर्मी मौसममा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

फलफूल/जुसको सेवन गर्नेः फलफूलमा पाइने खनिज तत्वहरूले शरीरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ र रक्तचाप र मुटुको क्रियाकलापलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।  

चिया/कफीको सेवन नगर्नेः चियाकफीका कारण शरीरमा पानीको झन् कमी हुन थाल्छ । चिया÷कफीमा पाइने कैफिनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चिया र कफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ ।

धूमपान तथा मद्यपान नगर्नेः धूमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धूमपानले शरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ ।

गर्मीमा व्यायाम गर्दा होस पुर्याउने: सकेसम्म गर्मी कम भएको बेला (बिहान) हिँड्ने, व्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने । बिहान वा साँझमा घरबाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।

सकभर घरभित्रै बस्नेः गर्मीको मौसममा चर्काे घाम लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ । सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनु पर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नु हुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनु पर्छ ।

चर्काे घामबाट बच्नेः दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नुपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ । 

उपयुक्त कपडा प्रयोग गर्नेः जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनु पर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन ।

यी माथि उल्लेख गरिएका विभिन्न उपायहरूका बारेमा सचेत र सजग हुन सकेमा गर्मीयाममा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ । अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनु पर्छ । यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ । (प्रस्तुत विचार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिलस“ग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित छ ।)