देउराली । सदा झैँ सुख्खायाममा धरानमा खानेपानीको सङ्कट गहिरिँदै आएको छ । खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार सुख्खायाममा दैनिक तीन करोड लिटर पानीको माग छ ।
मागअनुसार आपूर्ति आधा रहेको निर्देशक पोखरेल बताउँछन् । पानीको सङ्कट अन्त्यका लागि धरानमा सन् २०१२ मा एसियाली विकास बैङ्कको ऋणअनुदानमा एकीकृत सहरी विकास आयोजना (आइयुडीपी) सञ्चालन भयो । यो आयोजनाको मुख्य लक्ष्य नै धराने जनतालाई पानी खुवाउनु थियो ।
भूमिगत र सतहको गरी दैनिक १ करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने लक्ष्य रहेको थियो । तत्कालीन समयको २२ दशमलव १ मिलियन अमेरिकी डलर खर्चिएको अवस्था छ । तर, पनि पानी आपूर्तिको अवस्था झन् झन् चुलिँदै गएको छ । खानेपानीको सङ्कट चुलिनुमा धेरैले ‘वेल म्यानेजमेन्ट’ को अभाव ठान्छन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहिसकेका निवर्तमान नगरप्रमुख तिलक राई चुस्त खानेपानी वितरणले धेरै हदसम्म समस्याको समाधान गर्ने बताउँछन् । ब्लाष्टकर्मीसँगको छलफलमा भने, ‘हामीसँग स्रोत यति नै हो । यसमा म्यानेजमेन्टको महत्वपूर्ण भूमिका हुन्छ । सेड्युलअनुसार जानुपर्यो ।’
सतहबाट मुस्किलले प्रतिदिन ४० देखि ४५ लाख लिटर पानी आपूर्ति भइरहेको छ ।
‘हिउँदका बेला खानेपानीको प्रमुख स्रोत नै भूमिगत स्रोत हो । जहाँबाट हाल दैनिक १ करोड ५० लाख लिटर पानी आपूर्ति हुने गरेको बोर्डका निर्देशक पोखरेलको भनाइ छ । सतहबाट मुस्किलले प्रतिदिन ४० देखि ४५ लाख लिटर पानी आपूर्ति भइरहेको छ । सुख्खायाममा माग र आपूर्तिबीचको तादात्म्यता नमिल्ने समस्या नौलो नभएको नेपाल खानेपानी संस्थानका पूर्व प्रमुख धरानवासी देवराज श्रेष्ठले बताए । उनका अनुसार आफू कार्यरत रहँदा पनि सुख्खायाममा एक करोड २० लाख लिटर दैनिक पानी आपूर्ति गरेको थियो । धरानमा यसपटक चरम अभाव देखिनुमा व्यवस्थापनको कमजोरी र लापरबाही प्रमुख कारण रहेको उनी बताउँछन् । ‘सेड्युलअनुसार पानी वितरण गर्ने हो भने यस्तो हाहाकार हुँदैन’–उनले भने ।
‘गत वर्षसम्म चार भागको तीन भाग पानी आउँथ्यो, यो पल्ट आधा पनि छैन । धेरै नै कम छ ।
यही समस्यालाई उजागर गरेर निर्वाचित भएका धरानका नगरप्रमुख हर्कराज राईले ‘खानेपानी खुवाउन भनी’ पछिल्लो एक वर्षमा ९ करोड रुपैयाँ नगद सङ्कलन गरिसकेका छन् । यो तथ्याङ्क नगरप्रमुख राईकै निर्देशनमा प्रस्तुत गरिएको नगदको आँकडा हो । श्रम अभियानमार्फत् खानेपानीमा लगानी भइरहेको छ । तर, लगानीअनुसार पानी आपूर्ति हुन नसकेको भान आम धरानेलाई छ । धरान–१ का उपभोक्ता एवम् क्रसर व्यवसायी कर्ण मास्केले दुई दिनमा एक दिन पानी आउने र त्यो पनि सानो आउने गरेको बताए । ‘दुई दिनमा एक दिन आउँछ । एकै छिन आउँछ, सानो आउँछ’ उनले भने, ‘गत वर्षसम्म चार भागको तीन भाग पानी आउँथ्यो, यो पल्ट आधा पनि छैन । धेरै नै कम छ ।’
दैनिक ३ देखि ७ ट्रिपसम्म सप्लाइ गर्छौं, खाना खान पनि फुर्सद छैन । सात हजार लिटर बराबर ६ हजार रुपैयाँ लिने गरेका छौँ ।
यतिबेला धरानका अधिकांश स्थानमा धरानेहरूले ट्याङ्करबाट पानी खरिद गर्दै आएका छन् । पानी अभाव भएकै कारण धरानमा ७० वटा ट्याङ्करले पानी आपूर्ति गर्दै आइरहेका छन् । ‘दैनिक ३ देखि ७ ट्रिपसम्म सप्लाइ गर्छौं, खाना खान पनि फुर्सद छैन’ धरान–१५ स्थित गोर्खा लिगेसी ट्रेनिङ सेन्टरमा पानी लिएर आएका शुभलक्ष्मी खानेपानी ढुवानी सेवाका चालक जगतबहादुर विष्ट भन्छन्, ‘हामीले सात हजार लिटर बराबर ६ हजार रुपैयाँ लिने गरेका छौँ ।’ अर्का ट्याङ्कर व्यवसायी जयन्तराज गौतमका अनुसार धरानमा ७० को आसपास व्यवसायी छन् । धरान–१५ का पाकधन राई दश दिनयता पानीको निकै समस्या भोग्नुपरेको सुनाउँछन् । उनले भने, ‘घर बनाउँदै छु । हप्ता–दश दिनयता पानीको निकै सर्टेज भएको छ । भनेको बेला ट्याङ्करबाट पनि पानी किन्न पाइरहेको छैन ।’ उनले पानी किन्न पनि सहजै नपाउने स्थिति भएकोले ट्याङकर खोज्दै हिँड्नु परेको गुनासो गरे ।
तरहराबाट मात्रै ११ वटाभन्दा बढी पानी उद्योगले धरानमा खानेपानी बिक्री गर्दै आइरहेका छन् ।
धरानमा ट्याङ्करले मात्र दैनिक सरदर ५० लाख लिटर पानीको सप्लाइ गरिरहेका छन् । ट्याङ्करबाट वितरित पानी पिउनयोग्य मानिदैन । पिउनका लागि भने पानी उद्योगबाट आपूर्ति हुने गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित तरहरामा उद्योग रहेको न्यू हलेसी जलले दैनिक ३ हजार लिटर जारको पानी धरानमा आपूर्ति गर्ने गरेको सञ्चालक तुलसी साह बताउँछन् । उनका अनुसार तरहराबाट मात्रै ११ वटाभन्दा बढी पानी उद्योगले धरानमा खानेपानी बिक्री गर्दै आइरहेका छन् । ‘दुई सयको हाराहारीमा हामीसँग जार छन् तर, माग हजारभन्दा बढी छ । अरू कम्पनीहरूमा पनि यस्तै प्रेसर देखिएको छ’–व्यवसायी साह भन्छन् । बोर्डको तथ्याङ्कअनुसार धरानमा २८ हजार बढी धारा जडान गरिएको छ । औसतमा एक घरलाई दैनिक एक हजार लिटर पानी आवश्यक पर्ने बोर्ड बताउँछ ।
धरानमा ८० भन्दा बढी खानेपानी उपभोक्ता समिति छन् ।
त्यसो त धरानका कतिपय वडामा छुट्टै उपभोक्ता समिति गठन गरी पानी खुवाउँदै आइरहेको छ । यसरी खानेपानी खुवाउँदै आएका समितिलाई व्यवस्थापन गर्नका लागि धरान उपमहानगरले ‘खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७७’ कार्यपालिकाबाट पास गरेको छ । तथ्याङ्कअनुसार धरानमा ८० भन्दा बढी खानेपानी उपभोक्ता समिति छन् ।