कोका खोला श्रमदान अभियानमार्फत् झण्डै ४० किलोमिटर दुरी पार गर्दै मध्यरातमा धरानस्थित पकुवा खोलामा पानी आइपुगेपछि धरानमा खुसीयाली छाएको छ ।
धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा चलेको श्रमदान अभियानमार्फत् मध्यराति १२ बजेर ३ मिनेटमा कोका खोलाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको सञ्चारकर्मी रोहित राईले उल्लेख गरेका छन् ।
असम्भावनाको अड्कालबाजी र विरोधिहरुको खिसीट्युरीलाई चिर्दै धरान आइपुगेको पानीले उब्जिएका प्रश्नहरुको स्वतः उत्तर दिएको सञ्चारकर्मी राईले उल्लेख गरेका छन् । उनी यो श्रम अभियानको निरन्तर ‘फिल्ड रिपोर्टिङ’ गरिरहेका एक संचारकर्मी हुन् ।
मेयर साम्पाङको प्रस्तावित साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा राखिएको ‘वास आउट पोइन्ट’ मा पानी आइपुगेपछि समर्थकहरुसँगै भावविह्वल बनेका साम्पाङका आँशु कोका खोलाबाट आएको पानीसँगै मिसिएको देख्न सकिन्छ ।
धरानमा पानीको चरम अभाव भएपछि कोकाको पानी नल्याई घर नफर्कने अभिव्यक्ति दिएका साम्पाङ आइतबार राति अगुवा श्रमदातासँगै रहे । रातभर ‘एयर लिक’ गर्न खटिएका उनी पकुवा खोलामा मध्यराति १२ बजेर ३ मिनेटमा पानी खसेपछि साढे १२ बजे घर फर्किएका थिए ।
धरान २० स्थित हात्तिसारबाट वराहक्षेत्र हुँदै कोका खोलाको पानी धरान आइपुगेको हो । अभियानका लागि देशविदेशबाट ४ करोड बढी स्वतःस्फुर्त आर्थिक संकलन गरिएको थियो भने खाद्यान्न र पाइपसमेत सहयोग गरिएको थियो । कोका खोलाको पानी श्रमदान सुरु गरिएको स्थल पकुवा खोलामा आइपुगेपछि अभियान पूरा भएको उपमेयर अइन्द्रविक्रम बेघाले प्रतिक्रिया दिएका छन् । कोकाको पानी धरानको मुख्य वितरण प्रणालीसँग जोडिने छ ।