बेलका ८ स्थित कोसी कटान प्रभावित क्षेत्रमा वर्षा अगावै तटबन्धन गरिएको छ । गत वर्ष साउनमा आएका आएको बाढीले कटान गरेको डुम्रिबोटेस्थित लाहुरे खोजदेखि पश्चिमतर्फ ४ सय मिटर तटबन्धन गरिएको हो ।
सप्तकोसी नदीले निरन्तर पश्चिमतर्फ कटान गर्दा उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पु जोखिममा परेको थियो ।
संघीय सरकारको कुल २ करोड बजेटमा कोसी बक्राहा नदी व्यवस्थापन आयोजनाअन्तर्गत दुई वटा उपभोक्ता समितिमार्फत् योजना सम्पन्न भएको अनुगमन समिति सदस्य राज वान्तवाले जानकारी दिए । ‘२ करोड बजेट आएकोमा ढेड करोडको काम सम्पन्न भएको छ,’ अनुगमन समिति सदस्य वान्तवाले भने, ‘पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा बजेट विनियोजन भएको थियो ।’
अनुगमन समिति सदस्य वान्तवाका अनुसार सप्तकोसी नियन्त्रणका लागि जमिन मुनि ५ मिटर बाँध बाँधिएको छ भने सतहदेखि माथि ४.५ मिटर उठाइएको छ । बाँधको चौडाइ ४ मिटर रहेको छ । ‘बाँध बाँधेपछि बर्खामा पनि ढुक्क हुन सकिन्छ,’ अनुगमन समिति सदस्य वान्तवाले भने,‘हामी बर्सेनि त्रासमा बस्न बाध्य थियौं, अहिले केही राहत भएको छ ।’
नदीले विगत ३ वर्षदेखि निरन्तर पश्चिमतर्फ कटान गर्दै गएको छ । गत वर्ष साउनमा सप्तकोसीको बाढी टप्पुको २ हजार ५ सय बिघा खेतीयोग्य जमिनमा पसेको थियो । कटानका कारण सुनसरीको वराहक्षेत्रमा पर्ने श्रीलंका टप्पुका १ सय बढी परिवार विस्थापित भएका थिए । कटानका कारण बेलका नगरपालिकाको वडा नम्बर ८, ९, ३ र २ नम्वर वडा उच्च जोखिममा परेका थिए ।
मेखबारी बाँध निर्माण सम्पन्न
यस अघि सप्तकोसी नदीकटानबाट प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८ मेखबारीमा बाँध निर्माणको काम सम्पन्न भएको थियो ।
भ्याटसहित ६ करोड २७ लाख ५ हजार तीन सय ७१ रुपैयाँ लागतमा १ सय ९० मिटर बाँध निर्माण सम्पन्न भएको सुनसरी मोरङ सिचाइ आयोजनाका इन्जिनियर नित्यानन्द झाले जानकारी दिए । यो क्षेत्रमा कुल ५ सय मिटर बाँध बाँध्ने योजना छ । उदयपुरको बेलका ८ स्थित कोठु, चम्पापुर, मेखबारी र सोमबारेसम्मका बस्ती र खेतीयोग्य जमिन कटानको उच्च जोखिममा परेको थियो ।
बाँध निर्माणले सप्तकोसी किनारमा पर्ने बेलका नगरपालिका– ८ का दर्जनौँ गाउँ सुरक्षित हुने नेप्से युवा क्लबका अध्यक्ष सुशान्त राईले बताए । राईका अनुसार कोसीपीडित माथिल्लो क्षेत्रको लागि बाँधले सुरक्षित गर्ने भए पनि तल्लो क्षेत्रमा जोखिम कायमै रहेको छ ।
कोसी कटानबाट बेलका नगरपालिका वडा नं ३ स्थित चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष उच्च जोखिममा रहेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउँछन् । सिँचाइ तथा यातायात क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाल र भारतबीच सन् १९५४ अप्रिल २५ मा कोसी सम्झौता भएको थियो । सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म दुवैतर्फ भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्ने भए पनि भारनतको उदासिनताले सप्तकोसीको उच्च जोखिम कायमै छ ।
‘बाँध बाँध्ने काम केही क्षेत्रमा भए पनि टप्पुमा बस्नेहरु अझै त्रासमै छौं’ श्रीलंका टप्पुस्थित गरैयाका युवा सन्तोष चन्द्रवंशीले भने, ‘यसपाली के हुने हो, टुंगो छैन, टप्पुमा बाँध बाँध्ने काम पनि भएन, नेताहरुलाई भेट्दैपिछे भन्दै आएको छु, अन्योल छ ।’
यो वर्षामा पनि थातथलो छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने कोसीपीडित सन्तोष बताउँछन् ।
बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार भारतीय विशेषज्ञ टोलीले सन १९८१ मा गरेको अध्ययन प्रतिवेदनअनुसार सप्तकोसी बाढीले भारततर्फका सात हजार ६ सय ८० हेक्टर र नेपालतर्फका सात सय ३८ हेक्टर भूमिमा बर्सेनि क्षति हुने गरेको छ ।