नेपालमा मनसुन भित्रिएको अनुमान गरिँदै छ । मनसुन भित्रिएपछि नेपालमा अनेक खालका विपद्हरूले सताउने गरेको छ । नेपालको भौगोलिक अवस्था पृथक पृथक खालको भएका कारण फरक–फरक खालका विपद्को सामाना गरिरहेका छौँ । हिमालमा एक खालको, पहाडमा अर्को खालको र तराईमा छुट्टै किसिमको विपद्को सामना गरिरहनु परेको छ । हिमाली क्षेत्रमा हिमपहिरो, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम बढ्ने गरेको छ । यस विपद्बाट बर्सेनि मानिसहरू घरबारविहीन बनिरहेको अवस्था छ । बाढीपहिरोले ठूलो मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । फरक खालका विशेषता भएका कारण पनि फरक फरक खालका समस्याबाट जुधिरहेका छाँै । यसबाट बच्नका लागि विपद् आउनुपूर्व नै सतर्कता अपनाउनुपर्ने हुन्छ । बाढीपहिरोबाट बच्नका लागि पूर्वाभ्यास पनि नहुने होइनन् । तर, त्यो हाम्रा लागि यथेष्ट होइन ।
विशेषगरी पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण पनि कुनै ठाउँमा धेरै पानी पर्ने र भेलबाढीसँगै पहिरो जाने समस्या निम्तिने गरेको छ । यस पटक मनसुन कम हुने भनिए पनि यसको अर्थ बाढी नै आउँदैन र पहिरो जाँदैन भन्ने चाहिँ होइन । त्यसकारण सतर्कता पहिलो शर्त हो । सतर्कताले गम्भीर क्षति हुनबाट जोगाउँछ । दुई वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोले के कति क्षति पु¥यायो भन्ने सबैलाई विदितै छ । नेपालमा केही यस्ता जिल्ला छन्, जुन बाढी तथा पहिरो प्रभावित जिल्लाका रूपमा सरकारले तोक्दै आएको छ । त्यस्ता जिल्लालाई जोखिमयुक्त क्षेत्रको रूपमा परिभाषित पनि गर्दै आइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता जिल्लाहरूमा पूर्व सूचना प्रणाली तथा पूर्वाभ्यासहरू गराउने पनि गरेको छ । यस वर्ष पनि प्राधिकरणले कुन जिल्लामा कस्तो जोखिम आउन सक्छ भनी अध्ययन गरी विभिन्न आँकलन सार्वजनिक गरिसकेको छ । उच्च जोखिम, मध्यम् जोखिम रहेका जिल्लाहरूमा सतर्कता अपनाउनका लागि प्राधिकरणले विभिन्न जानकारी पनि दिँदै आएको छ । नेपालमा पछिल्लो केही दशकयता बाढीपहिरोको जोखिम अत्यन्तै बढेको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि त झनै समस्या विकराल बनेको छ । पहाडी जिल्लाका कतिपय स्थानमा ठूल्ठूला खालका पहिरो आए । तराईमा बाढीले सयौँ घर डुबानमा पा¥यो भने बालीनालीमा पनि क्षति पुर्यायो ।
मनसुनका बेलामा उच्च सतर्कता अपनाउन नसक्दा धेरै जनधनको क्षति हुँदै आइरहेको छ । प्राधिकरणको अध्ययनअनुसार नेपालका २१ जिल्ला पहिरोको उच्च जोखिममा छन् भने ३३ वटा जिल्ला मध्यम् जोखिममा रहेको देखाएको छ । त्यस्तै २२ वटा जिल्ला बारम्बार बाढीबाट प्रभावित बन्दै आएको पाइएको छ । यसले पनि पूर्व तयारी र प्रतिकार्य योजना अगाडि सार्नुपर्ने देखिन्छ । सर्वप्रथम त जोखिममा रहेका जिल्लावासीहरू नै सर्वप्रथम सचेत हुन आवश्यक छ । राष्ट्रियस्तरमा पनि पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना रहेको छ । यस कार्ययोजनाले यो वर्ष १२ लाख ५० हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरेको छ । यसकारण पनि उच्च जोखिम र मध्यम् जोखिम रहेका जिल्ला र बाढी प्रभािवत जिल्लाका नागरिकहरूले पूर्वतयारी अपनाउन आजैबाट पहल थाल्नुपर्छ । सरकारले पनि त्यस्ता प्रभावित जिल्लाहरूका लागि पूर्वतयारी गर्न विभिन्न किसिमका कार्यक्रमहरू तयारी अवस्थामा राख्नुपर्छ । बाढीपहिरोबाट जनधनको संरक्षण गर्नु राज्यको धर्म हो । राज्य यसमा सचेत होस् र नागरिक पनि सचेत रहून् ।