धरान । धरानमा नेपाल भाषाको तालिम दिइएको छ । भाषा बाँचे जाति बाँच्छ भन्ने भनाइ चरितार्थ गर्ने उद्देश्यका साथ नेवाः देय दबू धरान नगरले बीस दिने तालिम दिएको हो ।

तालिमको समापनका प्रमुख अतिथि धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले एक जातीय भाषा, धर्म, लिपि र संस्कार संस्कृतिको अन्त्य गर्न र बहुजातीय मुलुक बनाउन सबै जातजातिहरू आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । तालिममा विभिन्न वडाका २५ जना सहभागी रहेका थिए । उनीहरूलाई तालिमको प्रमाण–पत्र प्रदान गरिएको दबू नगर समितिका महासचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए । सहभागीमध्येकी राधिका श्रेष्ठले नेपाल भाषाको तालिम आफ्ना लागि उपलब्धिमूलक भएको बताइन् ।

तालिममा रामेश्वरी श्रेष्ठले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा उत्कृष्ट सहभागीको पुरस्कार देवका श्रेष्ठलाई प्रदान गरिएको दबूका नगरअध्यक्ष मनोहर शाक्यले जानकारी दिए । नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले धरानभित्रका नेवार समुदायलाई सङ्गठित गरी जातीय विकासमा पहल थाल्नुपर्ने बताए ।

नेवार एकता समाज धरान–११ समितिको व्यवस्थापनमा सम्पन्न तालिममा अध्यक्ष शाक्यले भाषा र लिपिसँगै संस्कार र संस्कृतिलाई जीवन्त राख्ने कार्यमा खलः पुचहरूसँग सहकार्य गरेर जाने बताए । कार्यक्रममा दबू नगरसमितिका सल्लाहकार राजेशमान श्रेष्ठ, दबूका जिल्ला उपाध्यक्ष सुरेन्द्रमान स्थापित, श्रेष्ठ समाजका अध्यक्ष पदम श्रेष्ठ, नेवाः राष्ट्रिय पत्रकार दबूका जिल्ला अध्यक्ष मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।