विषय प्रवेशः
आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण अभ्यासमा छौं । २०७२ सालमा जारी गरिएको नयाँ संविधानको प्रस्तावनामै यसको सुस्पष्ट व्याख्या गरिएको छ । शदीयौं वर्ष पुरानो निरङ्कुश राजतन्त्रको अवशानपछि स्थापित गणतान्त्रिक शासन व्यवस्था निकै ठूलो बलीदानी र लगानीबाट मात्र सम्भव भएको घामजस्तै छर्लङ्ग छ । यसले पछाडि परेका तथा पारिएका वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनताका बहुआयामिक हित र स्वार्थलाई सुनिश्चित गरेको छ । संविधानमा समाजको गतिशील र प्रगतिशील चरित्रलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । ऐतिहासिक भौतिकवादी व्याख्या वा नियमानुसार निरन्तरतामा क्रमभङ्गतासँगै समाज अघि बढ्दछ । अर्थात् समाज स्वभावतः अग्रगामी नै हुने गर्दछ, पश्चगामी हुँदैन ।

यही सार्वभौम तथ्य अनुरूप नै निरङ्कुश राजतन्त्रको पतनसँगै गणतन्त्रमा सङ्क्रमण भएको हो । हाम्रो संविधानको मूल अर्थराजनीतिक मर्म र भावना भनेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी एजेण्डाहरूको आत्मसातीकरण हो । यसैको जगमा टेकेर अझ उन्नत समाजव्यवस्था समाजवादमा सङ्क्रमण गर्ने न्यूनतम् लक्ष्य हो । तर, पछिल्लो समय समग्र राष्ट्रिय राजनीतिक हर्कतहरूलाई मिहीन ढङ्गले नियाल्दा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप हाम्रो समाज अघि बढिरहेको देखिँदैन । यही संसदीय कर्मकाण्डहरू पनि राजनैतिक मूल्यमान्यताको लिक वा लगामबाट बाहिर गइरहेको छ । रचनात्मक छलफल–बहस, सुझाव, सल्लाह र प्रतिक्रियाहरू शून्यप्रायः छ । निषेध र दुराग्रहले समाज मात्र होइन, झारपातलाई डसेको छ । यसले सिङ्गो समाज भद्रगोल बन्दै गएको छ, जुन हामी सबैको लागि दुर्भाग्यको कुरा हो ।

संविधान कार्यान्वयनमा एकरूपता छैन
संविधानको मूल र स्पिरिटलाई आत्मसात गरेर अघि बढ्नुपर्छ भन्नेमा सबै राजनैतिक पार्टीहरू एकठाउँमा नहुनु नै भद्रगोल राजनीतिको पूर्वसङ्केत हो । संविधान कार्यान्वयनमा एकरूपता नभएपछि राजनैतिक एजेण्डाहरू बेवारिस बन्ने गर्दछन् । आन्दोलनको लामो कष्टसाध्य प्रक्रियासँगै छलफल र बहसबाटै दर्ज गरिएका एजेण्डाहरूमा पुनः अनावश्यक छलफलमा समय खेर फाल्नु भनेको हाम्रो उत्पादनमूलक समय बर्बाद गर्नु मात्र हो । यसरी संविधान कार्यान्वयनमा एकरूपता नहुनु भनेको एजेण्डा कार्यान्वयनमा एकरूपता नहुनु हो । एजेण्डा कार्यान्वयनमा एकरूपता नहुनु भनेको समाजले अग्रगामी दिशा नलिनु हो । अग्रगामी दिशा नलिनु भनेको गणतन्त्रको संस्थागत विकास र रूपान्तरणसहित समाजवादमा सङ्क्रमण हुने सर्वाधिक महŒवपूर्ण सवाल ओझेल पर्दै जानु हो । अझ उन्नत, अझ न्यायिक र अझ समानतामा आधारित राजकीय समाजव्यवस्था टाढाको विषय बन्दै जानु हो । योबाहेक अर्को बाटो लिनु भनेको झनै भद्रगोल हुँदै जानु हो ।

पछिल्लो समय नेपाली राजनीतिलाई निश्चित राजनैतिक दृष्टिकोणले नेतृृत्व गरिरहेको छैन । औसत टिपन–टापन, मिडिया स्टन्टबाजी र हल्ला–खल्ला गरे मनग्यै पुग्ने भएको छ । पहिलाभन्दा सूचना प्रविधिको अभूतपूर्व विकासले राजनीति गर्न साह्रै सजिलो भएको छ । दृष्टिकोणले नेतृत्व नगरिएको समाजमा मतदाताहरू नराम्ररी बहकिने, बरालिने, भड्किने र झस्किने गर्दछन् । यो सार्वभौम नियम हो । यसरी विचारशून्य बहकाइको सपाट चित्र चुनावी परिणाममा अभिव्यक्त हुने गर्दछ । तब प्रतिनिधिसभामा अगाडि–पछाडि र उत्तर–दक्षिण सबैतिरका गन्तव्य लिएकाहरूको सङ्केन्द्रण हुनु स्वभाविक हुन्छ । संविधान मान्ने र नमान्ने अनि अग्रगामी र पश्चगामी सबै छन् । यही संविधानलाई उपयोग गरेर राप्रपा हिन्दु राज्यसहितको राजतन्त्रको भूत फर्काउने दाउमा देखिन्छ । उता रास्वपा सङ्घीयताको नामै सुन्न चाहँदैन । यता एमाले पनि खै नयाँ साथीहरूले साह्रै मरिहत्ते गर्दैछन् के पो गर्ने हो भन्ने मुडमा छ । यस्तो अवस्थामा निर्दिष्ट समाजवादी लक्ष्यमा पुग्ने कार्यक्रमिक योजनाहरू बन्न सक्दैनन् । हरेक राजनैतिक गतिविधिहरू अनावश्यक र औचित्यहीन छलफलसम्मको दुष्चक्रमा फसिरहन्छ । अगाडि बढ्न खोज्दा पछाडिबाट खुट्टा तान्ने गरिन्छ । तब राजनीतिले अग्रगामी निकास दिनुको साटो झनै भद्रगोल हुँदै जान्छ । हाम्रो चाहनाविपरीत राजनीति यही दिशातिर गइरहेको छ ।

राजनैतिक संस्कार छैन
वस्तुतः राजनैतिक संस्कार भनेको दृष्टिकोणद्वारा निर्देशित हुन्छ । नियमतः राजनैतिक दृष्टिकोणनै रक्षात्मक भएपछि त्यहाँ संस्कार हुँदैन । तब रचनात्मक तथा परिपक्व राजनैतिक छलफल र बहस हुँदैन । त्यहाँ केवल गालीगलौज, कुण्ठा, रिस, ईष्र्या, डाहा, प्रतिशोध र आग्रह मात्र साध्ने गरिन्छ । चुनाव लक्षित नाफा–घाटामा सीमित हुन्छ राजनीति । जनता र राष्ट्रिय हितलाई पनि पार्टीगत र व्यक्तिगत वा नेतागत स्वार्थको सेरोफेरोमा सीमित गरिन्छ । आप्mनो र आफैलाई मात्र केन्द्रमा राखिन्छ । राजनैतिक सवालको आधारमा समर्थन र विरोधको संस्कृति हुँदैन । आरोप–प्रत्यारोपकै दुष्चक्रमा घुमिरहन्छ । राम्रो कामको थालनी भएको छ, यसमा सबैले साथ सहयोग गरेर अघि बढ्यौँ भने मात्र मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने न्यूनतम् आलोचनात्मक विवेक अभ्यासमा छैन । रचनात्मक र आलोचनात्मक प्रतिपक्षको संस्कार छैन । सरकारमा हुँदा औसत र औपचारिक कर्मकाण्डहरूमै रमाउने चलन छ । यति गरेँ, उति गरेँ भनेर फेहरिस्त पेश गरिन्छ । तर, प्रतिपक्षमा पुगेपछि सरकारको खोइरो खन्ने, गल्ती मात्रै देख्ने, गालीमात्रै गर्ने अनि सरकार ढाल्ने प्रपञ्चमा लाग्ने यो हाम्रो राजनीतिको दरिद्र संस्कारहरू हुन् ।

वस्तुतः हाम्रो संस्कार रूपान्तरणमुखी छैन । निषेध र पतनमुखी मात्र छ । सहीलाई सही र गलतलाई गलत खुट्याउने आलोचनात्मक चेत देखिँदैन । यसले सिङ्गो सामाजिक भाष्य नै कि त निरपेक्ष नकारात्मक कि त निरपेक्ष सकारात्मक अनि कि त निरपेक्ष समर्थन या कि त निरपेक्ष विरोधमा रुमल्लिएको छ । यस्तो भएपछि काम गर्ने समयमा पनि अनावश्यक र अनुत्पादनशील विवाद र झन्झटहरू झेल्नुपर्ने हुन्छ । तब कामले गति पकड्न सक्दैन । विपक्षीहरूले रचनात्मक सुझाव र सल्लाह दिने संस्कृति छैन । विपक्षीहरूले जसरी पनि बदनाम गराउने छिद्रहरू खोज्न टर्चलाइट बोकेर मात्र हिँड्ने गरेका छन् । उनीहरू सिर्जनशील र क्रियाशील हुनुपर्छ भन्ने आधारभूत ज्ञानलाई चुनावी स्वार्थले खाइसकेको छ । राम्रा र नराम्रा कामहरूप्रति आलोचनात्मक दृृष्टिकोण राख्दैनन् । अरू कसैलाई बदनाम गराएर आफु वा आप्mनो पार्टीलाई चुनाव जिताउने दाउभन्दा राजनीति अलिकति पनि माथि उठ्न सकेको छैन । यो गम्भीर कमजोरी र गलत संस्कार हो । अन्ततः यस्तै चुनावी स्वार्थको गुरुत्वकेन्द्र वरिपरि मात्रै हाम्रो संस्कारहरूलाई सीमित गरिरहने हो भने अब राजनीति चरम् भद्रगोल अवस्थातर्पm जाने निश्चित छ, जसले हाम्रो समाजको त कुरै छाडौं, हामी कसैको हित गर्ने छैन ।

सदनको प्रस्तुति
पछिल्लो समय सदनको जुहारी हेर्दा पानी पँधेरो र चिया पसलको झगडा जस्तो प्रतीत हुन्छ । त्यहाँ राजनैतिक परिपक्वता, विवेक, शिष्ट र सभ्य संस्कृति पटक्कै देखिँदैन । राजनैतिक कार्यदिशा, कार्ययोजना, कार्यक्रमसँग सम्बन्धित सवालहरूभन्दा पनि प्राविधिक कुराहरूको उठान मजाकको रूपमा गर्ने चलन बढेको छ । सरकारको कामकारबाही सबै सही हुन्छन् भन्ने हुँदैन । त्यो विज्ञानले पनि मान्दैन । सदन भनेको सरकारको राम्रो नराम्रो कामको गम्भीर समीक्षा गर्दै राम्रोलाई यथावत् राख्दै नराम्रोलाई सच्याउने आधिकारिक थलो हो । यो गाउँले हावा खाँदै सुसेल्ने चौतारी मात्र होइन । आलोचनात्मक दृष्टिकोण भनेको रूपान्तरण गर्दै अघि बढ्ने पद्दति हो । गाली र निषेधले त्यस्तो हैसियत राख्दैन । निषेधले अर्को अमुक पार्टी र नेताहरूलाई सरकारमा पु¥याउँछ । सरकार प्रतिपक्षमा पुग्छ, अनि पुनः निषेधकै फर्मुला अपनाउँदा ऊ पनि परम्परागत संस्कृतिको पदचिन्ह अनुसरण गर्दै जाँदा निषेध हुन पुग्दछ । यसरी निषेधदेखि निषेधले कुनै अमुक पार्टी वा नेतालाई शक्तिमा त पु¥याउला अनि चर्चा पनि राम्रै कमाउला । तर, तपाईं हामीले चाहेको गुणात्मक परिणाममुखी समाधान भने दिँदैन । सदनको चोटिलो बोली, घोचिलो गाली र पेचिलो भनाइले सुन्ने श्रोता र हेर्ने दर्शकलाई आनन्दानुभूति भए पनि मुलुक र जनताको लागि प्रत्युत्पादक नै हुनेछ । यसकारण अरूलाई गाली गरेर आफू शक्तिमा उदय हुने गलत संस्कृतिले राजनीति झनै भद्रगोल हुँदै जाने खतरा देखिन्छ ।

निष्कर्ष
त्यसैले सबैले राजनीतिलाई भद्रगोल होइन, गोलपोष्टतिर लानु जरुरी छ । त्यो गोलपोष्ट भनेको हामी सबैको साझा गन्तव्य हो । यसको वा त्यसको भनेर जबरजस्ती कित्ताकाट नगरौं । साझा उद्देश्य प्राप्तिको लागि हामी सबैले परिपक्व र विवेकशील राजनीतिको कखरा पढौं । अरूलाई पनि पढाऔं । साधारण नागरिकहरूको भन्दा माननीयज्यूहरूको दायित्व अझ गम्भीर पक्कै पनि हुनुपर्दछ । कम्तीमा पनि न्यूनतम्् एजेण्डाहरूमा एकरूपता कायम गरौँ । सम्भव भएन भने तत्कालको लागि नोट अफ डिसेन्ट लेखेर भए पनि सभ्य लोकतान्त्रिक संस्कृति बसालौं । निरपेक्ष नकारात्मकता र निषेधपूर्ण दृष्टिकोण आजै त्यागौँ । राम्रा र नराम्रा पक्षहरूको आलोचनात्मक चिरफार गर्ने गरौँ । तब मात्रै समाजमा व्याप्त राजनैतिक रोग निदान गर्दै उपचारमा जान सकिन्छ । चुनाव हार–जितको निकृष्ट निहीत स्वार्थको लागि राष्ट्रिय तथा जनहितको सौदाबाजी नगरौँ । अर्थात् चुनावलक्षित समर्थन र विरोध नगरौँ । सिद्धान्त, नीति, विधि र एजेण्डाद्वारा निर्देशित सही र गलतको आधारमा समर्थन र विरोध गरौँ । 

शक्तिमा पुग्ने आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थकै लागि सस्तो लोकप्रियताको ढोङ्गी स्टन्टबाजी धेरै नगरौँ । अति हल्ला(खल्ला र प्रचारबाजीको साधन प्रयोग कम गरौँ । समर्थन गर्दा पनि अन्धसमर्थन, अन्धभक्ति र अन्धालोचना नगरौँ । आफू र आप्mनै पार्टीलाई पनि सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत गरौँ । आलोचनात्मक दृष्टिकोण अङ्गीकार गरौँ । सभ्य, शिष्ट र शालीन भाषा प्रयोग गरौँ । निश्चित राजनैतिक लगामबाट बहकिएका मतदाताहरूको लागि केवल चोटिलो र घोचिलो गाली गरे पुग्छ भनेर त्यसलाई राजनैतिक संस्कृतिकै रूपमा विकास गर्ने गलत काम नगरौँ । होइन भने यसरी नै चोटिलो, घोचिलो र स्वादिलो गालीलाई गुरुमन्त्र ठान्ने हो भने मुलुक अझ भद्रगोल र द्वविधाको चक्रब्यूहमा फस्नेछ, जसले हामी कसैको हित गर्दैन ।