विराटनगर । विराटनगर–१४ मा सञ्चालित निःशुल्क ट्युसन सेन्टरलाई विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । 

हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरूलाई निःशुल्क ट्युसन पढाउँदै आएका छन् । मण्डलले वडानम्बर ८ र १४ का विद्यार्थीहरूलाई लक्षित गरेर सुरु गरेको ट्युसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत्वमा स्थानीय विद्यार्थीलाई निःशुल्क ट्युसन पढाइरहेको थाहा पाएपछि महानगरका तर्फबाट विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको जानकारी दिइन् ।

महानगरले शैक्षिक सामग्रीसँगै विपन्न विद्यार्थीका लागि चप्पलका साथै डस्टबिनसमेत प्रदान गरेको थियो । ७ जना विद्यार्थीबाट सुरु गरेको ट्युसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको अभियन्ता मण्डलले बताए । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई ११ जना शिक्षकले निःशुल्क ट्युसन पढाइरहेको उनले बताए । गत वैशाख १७ गतेदेखि सञ्चालित सेन्टरमा दिन प्रतिदिन विद्यार्थीको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ ।