अल्पमतमा परेको कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याउँदै छ ।
विराटनगरस्थित प्रदेश सभा भवनमा आज दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक आज बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै जानकारी दिएका थिए ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नीति तथा कार्यक्रम चालु अधिवेशन आज १ बजे सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकार प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । प्रदेश प्रमुखले प्रदेश सभामा सम्बोधन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन पनि प्रदेश सभा सचिवालयलाई दिर्नेशन दिएको उनले बताए ।
प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो ।
जेठ २४ गते नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरिएको बेलामा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले जेठ २३ मा फिर्ता लिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।
आज आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजानिक गरेर प्रदेशसभाको बैठक अन्त्य गर्ने तयारी गरिएको छ ।
कार्की नेतृत्वको सरकार अल्पमतमा परेकाले सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।