गैरपत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ ।
शुद्धीकरण अभियानलाई कडाइका साथ खुट्टा नकमाई निष्पक्ष रूपमा काम गर्न सुनसरी पत्रकार महासंघलाई चौतारीले आग्रह गरेको छ । अन्यथा प्रेस चौतारी सुनसरी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारी सुनसरीले पत्रकार महासंघ सुनसरीका कार्यसमितिका केही व्यक्ति आफू निकटलाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर बलमिच्याइँ गरिरहेको आरोप लगाएको छ ।
चौतारी सुनसरीले विज्ञप्तिमा भनेको छ – ‘नेपाल पत्रकार महासंघ सुनसरी शुद्धीकरण अभियानमा आफ्ना सदस्यहरू छाँटकाँट गर्ने अभियानमा लागेका छ । तर विडम्बनाको कुरा के छ भने कार्यसमितिका केही व्यक्तिहरू आफू निकटकालाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर जुन बलमिच्याइँ गरिरहनु भएको छ, त्यसले महासंघको अभियान शुद्ध हुने हामीले ठानेका छैनौं । हामी चाहान्छौं, शुद्धीकरण निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनु पर्छ ।’
पत्रकार महासंघ सुनसरीले गर्न लागेको केन्द्रीय समितिको मापदण्डविपरीत एक पक्षीय ढंगको शुद्धीकरण किमार्थ स्वीकार्य नरहेको चौतारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । ‘शुद्धीकरणप्रति हामी पूर्ण सचेत रहेको बताउँदै चौतारीले नियमसंगत, आधार प्रमाण र तथ्यका आधारमा सुनसरी पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्न सकेन भने हामी त्यसको कडा प्रतिकार गर्छौं ।’ चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हालै भइरहेको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा सुनसरीका कार्यसमिति सदस्य नै निकटलाई जोगाउने चलखेलमा लागेको प्रेस चौतारीले आरोप छ ।
केन्द्रको १५ बुँदे मापदण्ड अनुसार छाँटकाट हुनुपर्ने चौतारीको भनाइ छ । व्यापारी, कर्मचारी, निर्माण व्यवसायी, जग्गा व्यवसायी, शिक्षक, कर्मचारी, अध्यापक, औषधि व्यवसायीलाई महासंघमा सधैं फुलमाला लगाएर सदस्य राखी रहन आवश्यक नरहेको चौतारीले उल्लेख गरेको छ ।
‘पत्रकार महासंघको सदस्यता भजाएर सिंगो पत्रकारितालाई बदनाम गर्ने काम भइरहेको छ, यस अभियानले महासंघलाई शुद्ध पत्रकारहरूको संगठन बनाउने कुरामा हामी विश्वस्त छौं, चौतारीले विज्ञप्तिमार्फत् भनेको छ, ‘नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ सार्वजनिक गरेको छ । प्रत्येक जिल्लामा १५ बुँदे मापदण्ड पठाएको छ । यही मापदण्ड अनुसार शुद्धीकरण हुनु पर्छ ।’
प्रेस चौतारी नेपालमा आबद्ध भएर सक्रिय पत्रकारिता नगर्नेलाई सदस्यता त्यागको स्वघोषणा गर्न लगाइरहेको र गरिरहेको चौतारीले स्मरण गराएको छ ।