धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) को एक वर्ष पूरा भएको छ । यो एक वर्षमा खानेपानीका लागि दत्तचित्त भएर लागेका छन् । अन्ततः उनले कोका खोलाबाट खानेपानी धरानको पकुवा खोलासम्म ल्याई छाडेका छन् । खानेपानी ल्याएको खुसीमा हर्षाश्रु पनि झरेको छ । उनमा देखिएको खानेपानीको हुट्हुटी केही हदसम्म पूरा भएको छ । यो एक वर्षको बीचमा उनले केही राम्रा कामहरू पनि गर्न सफल भए । भलै कार्यपालिकामा विवादित भए पनि खोलाजन्य पदार्थ उत्खनन्मा एक वर्ष रोक लगाउन सफल भए । यो उनको सकारात्मक कार्य हो । तत्कालीन जिल्ला विकास समिति (जिविस) हुँदा हाल धरानमा उत्खनन् गरिरहेको क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण क्षेत्र भन्दै रोक लगाउँदै आएको थियो । तर, यसअघिको स्थानीय तहका जनप्रतिनिधिले राजस्वको नाममा खोलाजन्य पदार्थ उत्खनन् गरे । तर, उनी आएयताको एक वर्ष भने ठप्प पार्न सफल भएका छन् । यो नगरप्रमुखको सकारात्मक कार्य हो । तीबाहेक पनि सार्वजनिक जग्गा मिचेर बनाएको घर भत्काउन सफल भए । हेर्दा सामान्य लागे पनि दलीय व्यवस्था भएको मुलुकमा यो निकै अप्ठ्यारो कार्य थियो । त्यसमा उनी सफल भएका छन् ।

नगरप्रमुखले यो एक वर्षमा जे जति कामहरू गरे । ती कामको समीक्षा गरिहाल्ने अवस्था भइसकेको छैन । अहिले आंशिक समीक्षा मात्रै हुन जरुरी छ । अबको चार वर्षमा हाल गरेका उनका कार्यहरूको दीर्घकालीन स्थिति कस्तो रहन्छ त्यो चाहिँ मननीय विषय हो । यो एक वर्ष दत्तचित्त भएर खानेपानीमा मात्रै काम गरेका छन् । ती खानेपानी जहाँ जहाँ जुन जुन स्रोतबाट ल्याइएको छ । त्यसको दीर्घकालीन अवस्था कस्तो हुने हो त्यो चाहिँ हेर्न बाँकी छ । उनले गरेका कामहरू नीतिगत र कार्यपालिका बैठकबाट निर्णय गरी गरेको भए थप उपलब्धिमूलक हुने थियो र त्यसले अनेकन प्रश्न उठाउने ठाउँ पाउँदैनथ्यो । वराहक्षेत्र नगरपालिकाले जुन जमिन दिनका लागि कार्यपालिकाको बैठकबाट निर्णय गरेको हुनुपर्ने आवाज उठाएको छ, त्यो पहिले नै हल हुने थियो । वराहक्षेत्रले उठाएका अन्य प्रश्नमा पनि धरान उपमहानगरपालिका अनुत्तरित नै छ । नगरप्रमुख आजका दिनमा अभियन्ताभन्दा पनि संस्था हुन् । संस्थाले गर्ने हरेक निर्णय संस्थागत हुन आवश्यक हुन्छ । त्यसमा चाहिँ उनी चुकेका छन् । अबका दिनमा उनी यस्ता विषयमा चुक्ने छैनन् भन्ने आम धरानवासीको अपेक्षा हो । उनले गरिरहेको कार्यको विरोधभन्दा पनि संस्थागत निर्णय तथा कानूनी तवरबाट हुनुपर्छ भन्ने प्रश्न मात्रै हो । त्यो प्रश्नप्रति जवाफदेही हुने स्वयम् उनी नै हुन् ।

कोकाको पानी धरानमा खसेपछि धरानवासीमा एक प्रकारको आशाको सञ्चार भएको छ । स्रोत थपिएकोमा धरानवासी आशावादी छन् । यो आशालाई निराशामा परिणत हुने अवस्था सिर्जना गर्नुहुँदैन । खानेपानी ल्याइएको क्षेत्रबाट के कति पानी आइरहेको छ र आउँछ भन्ने विषय चाहिँ अहम् हो । यसको खोजीनीति धरानेहरूले गरिरहनुपर्छ । यो एक वर्षमा जुन जुन स्थानबाट पानी ल्याउनका लागि देशविदेश तथा धरानवासी र अन्य क्षेत्रवासीहरूले पाइपलाइन बिछ्याउनका लागि सहयोग गरेका छन् । जनश्रमदान गरेका छन् । उनीहरूले पनि के भइरहेको छ भनेर खोज्नुपर्छ ? नगरप्रमुखलाई जवाफदेही बनाइरहनुपर्छ अनि मात्रै साँचो अर्थमा श्रमदान र सहयोग भएको ठहरिनेछ । आज पानीको समस्या धरानको मात्रै रहेन । विश्वभर नै पानीको चिन्ता छ । यसप्रति हरेक वर्ष चिन्तन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । हाम्रा खोलानालाहरू बर्सेनि सुक्दै जाँदै छन् । स्रोतहरू घटिरहेका छन् । त्यसकारण पनि दीर्घकालीन मेघा परियोजनाका लागि पनि नगरप्रमुखले सबै धरानवासी बुद्धिजीवी, विद्वान्, राजनीतिक दल, गैरराजनीतिक दलका मानिसहरूसँग बसेर समस्यालाई हल गर्नका लागि बृहत् छलफल चलाउन जरुरी छ । यसप्रति नगरप्रमुख चिन्तित होऊन् ।