धरान । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि कालो मसी छर्किएको आरोपमा नेपाल विद्यार्थी सङ्घका मोरङ सभापतिलाई प्रहरीले पक्राउ गरेको छ ।
कालो मसी छर्किने घटनाको कार्यमा नेतृत्व लिएको आरोपमा नेविसङ्घका सभापति सरोज पोखरेललाई मोरङको बूढीगङ्गा क्षेत्रबाट बुधबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले घटनाबारे अनुसन्धान गर्नका पोखरेललाई पक्राउ गरिएको बताए ।
दुई दिनअघि सेवा आयोगका अध्यक्ष दाहाललाई कालो मसी छर्किएर अपमान गरिएको थियो । कर्मचारी नियुक्ति तथा सेवा प्रवेशमा ४५ वर्ष उमेर हद राखेको भन्दै नेविसङ्घले विरोध गर्दै आइरहेको थियो । दाहाललाई कार्यालयमै कालो मसी छर्किएको थियो ।