धरान । धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ अन्तर्गत ल्याउने षड्यन्त्रलाई प्रभावकारीरूपमा प्रतिवाद गर्न आवश्यक रहेको बताएका छन् ।

‘प्रतिष्ठान धरानको ठूलो गहना हो, छाता ऐनको प्रतिरोध गर्न आवश्यक छ’–नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा सञ्चालित लेखनवृत्ति कार्यक्रमबाट प्राप्त आलेखहरूको सारसंक्षेप प्रस्तुतीकरण गर्ने कार्यक्रममा नगरप्रमुख साम्पाङले भने ।

नगरप्रमुख साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिकाको मातहतमा आए राम्रो हुने बताएका छन् । ‘प्रतिष्ठानमा हाम्रो प्रशासनिक र आर्थिक नियन्त्रण नहुने दायित्वमात्र सिर्जना हुने अवस्था छ’ नगरप्रमुख साम्पाङले भने, ‘भाडा उठेन, पानी आएन हाम्रै थाप्लामा आइपर्छ, प्रतिष्ठानले दायित्वमात्र सिर्जना गरेको छ, दायित्व वहन गर्ने अनि हाम्रो अधिकार नरहने ?’

नगरप्रमुख साम्पाङले प्रतिष्ठान नगरकै मातहतमा आए राम्रो अन्यथा केही हदसम्म भए पनि प्रतिष्ठानमा धरान उपमहानगरपालिकाको नियन्त्रण रहनुपर्ने बताए । उनले प्रतिष्ठानभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलले एक रुपैयाँ पनि कर नतिरेको बताए । प्रतिष्ठानको अन्तर्वस्तु अझै आफूले बुझ्न नसकेको नगर प्रमुख साम्पाङले प्रतिक्रिया दिए । ‘केही सोधीखोजी गरे माथि देखाउँछ, समस्या आइपरे नगरपालिका गुहार्छ’ पत्रकारलाई आग्रह गर्दै नगर प्रमुख साम्पाङले भने, ‘प्रतिष्ठान स्वायत्त हो कि अर्धस्वायत्त हो भन्ने पत्तो लगाउनु पर्ने भो ।’

‘नगरपालिकाको सूचना तोडमोड गर्दैन’
धरान उपमहानगरपालिकाका नगरप्रमुख  हर्क साम्पाङले पत्रकारलाई लुकाउनुपर्ने केही नभएको बताएका छन् । ‘नगरपालिकाको सूचना तोडमोड गर्नुपर्ने कुनै बाध्यता छैन’–पत्रकारहरूसँगको बुधबार भएको छलफलमा नगरप्रमुख साम्पाङले भने । ‘सुशासनका लागि लडेर आएको मान्छे हुँ, पारदर्शिताप्रति प्रतिबद्ध छु’ नगरप्रमुख साम्पाङले भने, ‘पत्रकारहरूको सल्लाह सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्नेछु ।’ धरान उपमहानगरपालिकाद्वारा पत्रकारहरूलाई प्रदान गरिएको लेखनवृत्ति कार्यक्रमबाट आएका निष्कर्ष तथा सुझावलाई नगरले अध्ययन गरी कार्यान्वयनतर्फ लाने नगरप्रमुख साम्पाङले बताए ।

धरानका समसामयिक विषयमा टिप्पणी गर्दै नगरप्रमुख साम्पाङले खानेपानीका लागि आफूले गरिरहेको प्रयासमा सञ्चारकर्मीहरूको सकारात्मक भूमिकाका लागि आह्वान गरे । ‘धरान उपमहानगरपालिकामा मात्रै सीमित रहँदैन, विकासको गति प्रगतिशील हुन्छ’ नगर प्रमुख साम्पाङले भने, ‘धरान महानगरपालिका बन्दा पानीको पर्याप्त आपूर्ति गर्ने विषय मननीय हुन्छ ।’

धरानको जनघनत्व बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै नगरप्रमुख साम्पाङले हाल दैनिक १०–१५ वटा धारा जडानको निवेदन नगरमा आउने गरेको बताए । धरानमा उपलब्ध र खोजी गरिएका पानीका स्रोत तथा मुहानहरूलाई धरान उपमहानगरपालिकाको मातहतमा ल्याउन कार्यविधि पास गरिएको नगरप्रमुख साम्पाङले बताए । कार्यविधि पास भइसकेको हुनाले अब खानेपानीका सबै उपभोक्ता समूहअन्तर्गतका पानीका मुहानहरू नगर मातहत सञ्चालन हुने नगरप्रमुख साम्पाङले बताए ।

पत्रकार महासङ्घलाई सहयोग गर्ने प्रतिबद्धता
नगरप्रमुख हर्क साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीको भवन निर्माणका लागि स्रोतअनुसारको बजेट विनियोजन गर्ने बताएका छन् । ‘नगरलाई आवश्यक सकारात्मक सल्लाह, सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्नेछौं’ नगरप्रमुख साम्पाङले भने, ‘स्रोतअनुसारको बजेट प्रदान गर्छौं ।’ नगरप्रमुख साम्पाङले लेखनवृत्तिका माध्यमबाट आएका विषयलाई अध्ययन गर्ने बताए । उनले सोही प्रसङ्गमा आएका करको दायरा वृद्धि गर्ने, कला, संस्कृतिलाई नीतिगत र बजेटमै सम्बोधन गर्ने गरी तयारी गर्ने बताए । ‘नाटक मञ्चन गर्ने घरबारे चिन्तित छु, साथीहरूले बोलाउनुहुन्छ, सभागृह जाँदा छत झर्ला कि भन्ने डर लाग्छ, नाटकघरका लागि आगामी आर्थिक वर्षमा केही गर्नै पर्छ’ नगरप्रमुख साम्पाङले भने, ‘पर्यटन मन्त्री सुदन किरातीसँग पनि यस विषयमा कुराकानी भएको छ, अशोक राईलाई पनि अनुरोध गरेको छु ।’