भद्रपुर । ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात कुटपिट गरेको घटना बाहिएको छ । झापाको मेचीनगर सीमा नाकामा यो घटना भएको हो ।

हतियारधारी तथा वर्दीधारी पाँचजना सशस्त्र प्रहरीलाई डिआइजीले सादा पोसाकमा खटाइएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहित तीन जनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो । इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ, भने सप्रह तामाङको शरीरभरि निलडाम बसेको छ । त्यस्तै सप्रह कार्की र सप्रसह राईको दायाँ हातमा चोट लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै वर्दीधारी सशस्त्रलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा क्षेत्र मङ्गलबार राति ५ घण्टा तनावग्रस्त बनेको थियो । वर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोसित बनेका त्यहाँका स्थानीयहरू सादा पोसाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । इन्स्पेक्टर राईसहित तीनै जनालाई बिओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले हो–हल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए ।

सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडीसमेत तोडफोड गरेको बताइएको छ । घटनाले उग्ररूप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए । साथै घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरिका थिए । एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र स्थानीयले इन्स्पेक्टर राईसहित तीनै जनालाई लैजान दिएका थिए ।

वराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिए । गणभित्रै उनीहरूमाथि सोधपुछ गरी कारबाहीका लागि फिर्ता पठाइएको उनले जानकारी दिए । घाइतेहरूको तत्काल धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचारपश्चात् बुधबार सशस्त्र प्रहरीकै अस्पताल पठाइएको उनले बताए ।

यता सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताए ।

झापाका विभिन्न नाकाबाट चोरी तस्करी भइरहेको सूचना आएपछि सो कुरा बुझ्नलाई इन्स्पेक्टर राईसहित उनीहरूलाई खटाइएको स्वीकार्दै डिआइजी पोखरेलले झापामा घटना बुझ्न मात्र उनीहरूलाई खटाइएको बताए । आफ्नै सङ्गठनका वर्दीधारी कर्मचारीलाई त्यसरी ड्युटीमा कुटपिट गर्नु गलत भएको उनले बताए ।

घटनाको बारेमा थप बुझ्न वराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको उनले बताए । छानबिन प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गरिने उनको भनाइ छ ।  नकलबन्दा नाकाबाट चोरी तस्करी भइरहेको भन्दै इन्स्पेक्टर राईको कमान्डमा सशस्त्र जवानहरू तामाङ र बास्तोला सादा पोसाकमा त्यहाँ पुगेका थिए । इन्स्पेक्टर राईले घटनास्थल पुगेर बिओपी नकलबन्दाबाट खटिएका १३ जना र सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका ३ जना गरी १६ जनालाई सामेल गराएका थिए । त्यसपछि इन्स्पेक्टर राईले ड्युटीमा लापरबाही गरेको भन्दै उनीहरूलाई पानीमा डुबाउँदै भाटैभाटाले हिर्काएका थिए । बिओपी नकलबन्दाका इन्चार्ज तथा सइ माधव खत्रीले इन्स्पेक्टर राईलाई त्यसो नगर्नू भन्दै रोक्न खोजेका थिए ।

तर, इन्स्पेक्टर राईले सइ खत्रीको कुरा मानेनन् । उनले ड्युटीमा खटिएका सशस्त्रलाई एक घण्टासम्म पानीमा चोबल्दै कुटपिट गरेको सशस्त्र स्रोतको दाबी छ । पछिल्लो समय पूर्वी नाका आसपासमा खटिएका सशस्त्र प्रहरीले सङ्गठनमाथि नै आँच आउने किसिमका कामकाज गर्दै आइरहेको केही घटनाहरूले पुष्टि गरिसकेको छ ।