प्रदेश सरकारले धरानको खानेपानी विस्तारमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि धरानका नगर प्रमुख हर्क साम्पाङले खुसी व्यक्त गरेका छन् । 

बिहीबार समसामयिक विषयमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले प्रदेश सरकार र खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई धन्यवाद दिएका छन् । 

‘मन्त्रीज्यूसँग भेट भयो, उहाँले राम्रो राख्दिएको छु चिन्ता नलिनू भन्नु भएको थियो, खुसी लाग्छ उहाँलाई धेरैधेरै धन्यवाद,’ नगर प्रमुख साम्पाङले भने, ‘उहाँसँग अलिक पिरोपिरो पनि भएको थियो, म अलिक घोची पनि रहन्थें प्रदेश सरकारले धरानको खानेपानीका लागि केही पनि गरेन । अहिले बजेट दिएको रहेछ । त्यसको लागि धन्यवाद, प्रदेश सरकार सम्पूर्णलाई म धेरैधेरै धन्यवाद दिन्छु ।’ 

कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अध्यादेशमार्फत् आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।