विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले ८१ हजार ३ सय ४२ थान सेनिटरी प्याड खरिदमा कीर्ते कागजपत्र पेश गरी बढी रकम कबुल गर्ने सप्लायर्सलाई टेण्डर दिएको पाइएको छ ।
कम मूल्याङ्कन गरी आवेदन दिएको फर्मलाई पाखा लगाएर कीर्ते कागजपत्र पेश गरी ३४ लाख बढी मूल्य हाल्ने सुनसरी धरान–१ को निक्की डिष्ट्रिब्युटर्सलाई सेनिटरी प्याड खरिद गर्ने ठेक्का दिएको पाइएको हो । इटहरी उपमहानगरपालिकाले ८१ हजार ३ सय ४२ प्याकेट सेनिटरी प्याड खरिदको लागि वैशाख २० गते पत्रिकामा सूचना निकालेका थियो ।
सूचना जारी भएपछि पाँचवटा फर्मले आवेदन दिएका थिए । जसमा अप्सरा ट्रेडलिङ्कले ४५ लाख ३ हजार ९ सय ६ रुपैयाँ ५४ पैसा, एन्जल टच हाइजिन म्यानुफेक्चरिङ प्रा.लि.ले २० लाख ७ हजार ४ सय ५५ रुपैयाँ ४९ पैसा, जनहित ट्रेडर्सले २४ लाख ३९ हजार ४ सय ६२ रुपैयाँ ८५ पैसा, विराट हेल्थकेयर इन्डष्ट्रिज प्रा.लि.बूढीगङ्गा–२ टङ्किसिनवारीले १८ लाख ५७ हजार ६ सय ३१ रुपैयाँ ६६ पैसा र निक्की डिष्ट्रिब्युटर्स धरान–१ सुनसरीले ५३ लाख ३१ हजार १ सय ५४ रुपैयाँ ६८ पैसामा टेण्डर हालेको थियो । टेण्डर हालेकामध्ये सबैभन्दा बढी रकम कबुल गर्ने निक्की डिष्ट्रिब्युटर्सले सेनिटरी प्याड खरिद गर्ने ठेक्का पाएको छ । सबैभन्दा कम मूल्याङ्कन गर्ने विराट हेल्थकेयर इन्डष्ट्रिजको आवेदन रद्द गरिदिएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा सेनिटरी प्याड माटोमा १ सय ८० दिन (६ महिनाभित्रमा) ९० प्रतिशत बायो डिग्रेबल (कुहिने प्याड) हुनुपर्ने उल्लेख गरेको छ । त्यही भएर अन्य चारवटा फर्मको बायो डिग्रेबल सेनिटरी प्याडको रिपोर्ट नभएको कारण देखाउँदै नगरपालिकाले आवेदन रद्द गरेको थियो । निक्की डिष्ट्रिब्युटर्सले पेश गरेको कागजपत्रमा सेनिटरी प्याड बायो डिग्रेबल भनेर पेश गरेको थियो । त्यही भएर उनले ठेक्का पारेको नगरपालिकाले जनाएको छ । तर, निक्कीले विराटनगरस्थित उद्योगी पुनित सारडाले सञ्चालन गरेको उद्योग जस्मिन हाइजिन प्रोडक्ट्स प्रा.लि.ले दिएको बायो डिग्रेबलको रिपोर्ट नक्कली पेश गरेको प्रमाण ब्लाष्टले फेला पारेको छ ।
कुहिने पदार्थ परीक्षण गर्ने ल्याव भारतमा मात्र रहेको छ । भारतको सिपेट पेट्रोकेमिकल्स उन्नत अनुसन्धान स्कुल (एसएआरपी), (एसआरएसटीपीएस) ले दिएको रिपोर्टअनुसार जस्मिन हाइजिन प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको सेनिटेरी प्याडको मापदण्ड बायो डिग्रेबल (कुहिने प्याड) को लागि उपयुक्त नभएकोले रिपोर्टमा उद्योगलाई यो रिपोर्ट दिन सम्भव छैन भनेको छ । तर, उद्योगले आफ्नो सप्लायर्सलाई ठेक्का पार्न भारतको ल्यावले दिएको रिपोर्टलाई फोटोसपमार्फत् तोडमोड गरेर बायो डिग्रेबल भनेर कागजपत्र पेश गरेको पाइएको छ । (हेर्नुहोस् नक्कली ल्याव रिपोर्ट)
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले टेण्डरपचात् आशयपत्र निकालेपछि उजुरी आएको बताए । ‘टेण्डर पार्नेलाई फर्मको ओरिजिनल प्रमाण–पत्र माग गरिएको छ’ उनले भने, ‘कीर्ते गरेर कागजपत्र पेश गरेको भेटिए कारबाहीको दायरामा ल्याउनेछौं ।’ अहिले तत्कालको लागि टेन्डर पनि रद्द गरिएको उनले जानकारी दिए । ‘उजुरी परेपछि अहिले तत्कालको लागि टेण्डर रद्द गरिएको छ’–उनले भने ।