‘फल्स डकुमेन्ट पेस गरेर फर्जी तवरले धरान खानेपानी व्यवस्थापन बोर्डको सदस्य भएको दाबी गर्दै आफूमाथि मुद्दा हालिएको’ धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले दिएको अभिव्यक्तिप्रति बोर्ड सदस्यहरुले खण्डन गरेका छन् । 

‘खानेपानी व्यवस्थापन बोर्डका सदस्य बताउने र अस्तित्वमा नभएको अनधिकृत संस्थाका प्रतिनिधिले बोर्डको सदस्य दाबी गर्नु अवैधानिक हुने’ नगर प्रमुख साम्पाङले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै अभिव्यक्ति विरुद्ध बोर्ड सदस्यहरुले पत्रकार सम्मेलन गर्दै खण्डन गरेका हुन् ।

‘हिजो उहाँ अभियन्ता हुँदा, बोर्डविरुद्ध आन्दोलन गर्दा हाम्रै फोटो राखेर थुकेर, कुल्चिएर गाली गर्ने उहाँ नै हो, अहिले त्यही संस्थामा पदेन सदस्यका रुपमा आएपछि बोर्ड सदस्यलाई अवैधानिक भन्न मिल्छ ?’ धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्य तथा धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा प्रश्न गरे ।

‘डकुमेन्ट लिगल नभएको भए, संस्था दर्ता नभएको भए, जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएको भए हामी कसरी बोर्डको सदस्य भयौं त ? नगरपालिकामा सूचीकृत नभएको सत्य हो, कम्पनीहरु रजिस्टार कार्यालयमा दर्ता हुन्छन्, समाज कल्याण मन्त्रालयमा हुन्छन्, जिल्ला प्रशासन कार्यालयमा हुन्छन् ।’ नगरपालिकाभित्र कारोबार गर्ने संस्था नगरमा सूचीकृत हुने भए पनि खानेपानी बोर्ड स्वायत्त संस्था भएकाले सूचीकृत गराउने विषयमा बोर्डले नभनेको वडाध्यक्ष भट्टराईले बताए ।

Dharan Khanepani Byabasthapan board_blastkhabar.com3

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा बोर्ड सदस्यहरुले खानेपानी र पानी जुटाउने प्रयत्नको विरोध नगरेको स्पष्ट पारेका छन् । ‘हामीले मात्र जुन बोर्डमा हामी सदस्य छौं त्यो बोर्डको बैठक नबोलाएको वर्षौं भयो, बैठक बोलाउनु पर्यो भनी बोर्डका कार्यकारी समिति सचिव एवम् कार्यकारी निर्देशकलाई पटकपटक मौखिक र लिखित पत्र पेश गरी बैठक माग गर्दा समेत बैठक नबोलाए पछि हामीले बैठक बस्नका लागि कानुनी बाटो अपनाएको सत्य हो,’ विज्ञप्तिमा भनिएको  छ, ‘तर यो मुद्दा होइन, बोर्ड बैठक बोलाउनका लागि आदेश पाऊँ भनी गरिएको निवेदन मात्र हो ।’ 

बोर्डका सदस्यलाई त्यस भित्रको सबै कुराको जानकारी पाउने र बैठकमा बस्न पाउने अधिकार रहेको भन्दै  बोर्ड सदस्यहरुले पदमा रहँदा या नरहँदा आफ्नो कार्यकालभित्र भए गरेका राम्रा वा नराम्रा सबै खाले निर्णयहरुको जिम्मा लिनु पर्ने भएकाले कार्यकाल समाप्त हुँदै गर्दा सबै चुस्तदुरुस्त बनाएर जानु राम्रो ठानेका ले बैठक माग गरेको बताए । 

Dharan Khanepani Byabasthapan board_blastkhabar.com (1)

बैठक बारे आवश्यक सूचना दिन निवेदन दर्ता गर्दा समेत सुनुवाई नभएको बोर्ड सदस्यहरुको भनाइ छ । सदस्यहरुले बोर्डको बैठक बसेको छ कि छैन ?, बोर्डको अध्यक्ष चयन भएको छ कि छैन? बोर्डको सञ्चालन के, कुन प्रक्रियाबाट भइरहेको छ , लगायतका जिज्ञासा राख्दै गत वैशाख ३१ गते बोर्डमा निवेदन दर्ता गराएका थिए । निवेदन उपर कुनै कारवाही नभएको बोर्ड सदस्यहरुको गुनासो छ । 

‘बोर्ड सदस्यहरुले बैठकको माग गर्दा जुन खालको वातावरण धमिल्याउने काम जो कसैबाट भइरहेको छ त्यस प्रति हामीलाई दुख लागेको छ ।’ विज्ञप्तिमा भनिएको छ । 

Bigyapti_Board_sadasya

‘यो लाभ र आरामको पद पनि होइन । आफूले सकेको र बोर्डको नेतृत्वले अराए, लगाएको काम सँगोलमा गर्ने हो । हामीले एक वर्ष अगाडिसम्म सकेको र जानेको काम गरी आएको यो संस्थामा रेकर्ड पनि होला र हुनु पर्छ ।’ बोर्डको कार्यकारी समिति सदस्यहरु सुनसरी उद्योग वाणिज्य संघका तर्फबाट विजय श्रेष्ठ, सदस्य सूर्यबहादुर भट्टराई र श्याम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

केही दिनदेखि धरानमा खानेपानी बोर्डको विषयलाई लिएर बहस छलफल र उत्सुक्ता उत्पन्न भइरहेको सन्दर्भमा बोर्ड सदस्यहरुले सत्यता धरानवासीलाई बुझाउनु पर्ने कर्तव्य ठानेर पत्रकार सम्मेलन गरेको जनाएका छन् । 

विज्ञप्तिमा जनश्रमदानमार्फत् कोका खोलालगायतका मुहानबाट पानी ल्याउन गरिएको अथक प्रयास र मिहिनेतलाई बोर्ड सदस्यका तर्फबाट धन्यवाद दिइएको छ । साथै श्रमदानसँगै आएका सहयोगका लागि समेत धन्यवाद दिइएको छ । विज्ञप्तिमा नगर नेतृत्वले पानीका लागि गरेका सबैखाले प्रयास र प्रयत्नलाई जो कसैले विरोध गर्ने कल्पना समेत गर्न नसक्ने उल्लेख गरिएको छ ।

Dharan Khanepani Byabasthapan board_blastkhabar.com (2)

पत्रकार सम्मेलनमा पूर्व नगर प्रमुख तिलक राईले ‘नगर प्रमुख’ पदेन सदस्य रहने बोर्डको ऐनमा व्यवस्था भएको बताए । उनले आफू निर्वाचित भएपछि बोर्ड सदस्यहरुले स्वागत गरेर अध्यक्ष बनाएको बताए । 

बोर्डको  कार्यकाल ४ वर्ष रहने व्यवस्था छ । बोर्ड सदस्य भट्टराईको कार्यकाल आगामी साउनमा सकिंदैछ भने पोख्रेलको कार्यकाल माघसम्म रहेको छ । उद्योग वाणिज्य संघको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था भएको बोर्डमा उनको कार्यकाल ३ वर्ष बढी रहेको छ ।   

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत राजु पोख्रेलले धरान खानेपानी व्यवस्थापन बोर्डका विषयमा आफूले नबोल्ने बताए । उनले बुझ्न परे अध्यक्षलाई नै बुझ्न अनुरोध गरे । ‘यो मुद्दामामिलामा गएको, अदालतमा पुगेको विषय हो, मैले के बोल्नु र !, बुझ्न चाहेको कुरा अध्यक्षज्यूसँगै बुझ्नु होला ।’ कार्यकारी अधिकृत पोख्रेलले भने ।  

suchana mag_Khanepani_board