धरान । झापा प्रहरी चेक अनादर मुद्दालगायत विभिन्न मुद्दामा फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

झापा जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामा फरार भएकालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार चोरी मुद्दा, सवारी ज्यान र चेक अनादर मुद्दामा फरारहरूलाई पक्राउ गरी अदालतको आदेशमा कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा चोरी मुद्दामा १ महिना १९ दिन कैद र ३ हजार रुपैयाँ जरिबाना तोकिएका बिर्तामोड नगरपालिका–५ का ४२ वर्षीय प्रमोदकुमार चौधरी रहेका छन् । चोरी मुद्दामा २०७९ माघ १७ गते फैसला भएको थियो । त्यस्तै सवारी ज्यान मुद्दामा ९ महिना २८ दिन कैद र २ हजार रुपैयाँ जरिबाना फैसला भएका मेचीनगर नगरपालिका–१३ का ३३ वर्षीय मनप्रसाद तिवारीलाई पनि पक्राउ गरिएको छ ।

सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले २०७८ माघ ३ गते फैसला गरेको थियो । यस्तै अदालतले २०७६ माघ २८ गते फैसला गरेको चेक अनादरको मुद्दामा फरार झापा अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय नवीन भनिने नगेन्द्र नेपाललाई पक्राउ गरिएको हो । उनलाई २ हजार रुपैयाँ जरिबाना तोकिएको थियो । जरिबाना तोकिएका उनले जरिबाना बुझाएपछि छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।