कमल पोख्रेल
कर्णसिंह ठकुरी बालिग भैसकेका थिए । आफ्नी आमा र बाबु सानैमा नै स्वर्गीय भैसकेका थिए । उनको पालन–पोषण जेठीआमाले नै गरेकी थिइन् । सानामा आफूसँगै सुताउँदछिन् । कर्णसिंहलाई हुर्काउने काम जेठीआमाले नै गरिन् ।
बाबु स्वर्गीय हुनुभन्दा पहिला आफ्नो सबै श्रीसम्पत्ति जेठी श्रीमतीका नाममा गरेका थिए । त्यसैले दाजुभाइले मुद्दा हाल्न सकेनन् । जेठीआमाको नाममा सबै सम्पत्ति भएकाले कर्ण सिंहलाई पर्नु पीर परेको थियो । त्यो सम्पत्ति आफ्नो नाममा कसरी ल्याउने भन्ने सोचमा थिए ।
एकदिनको कुरा हो कर्ण सिंहले बिहानै नास्ता गरेपछि जेठीआमालाई ‘नजिकैको तारेभीरबाट सूर्य उदाएको हेर्न जाऔं’ भने । आमाले पनि हुन्छ भनेर कर्णसिंह सँगै हिँडिन् । तारेभीरमा जेठीआमालाई हात तान्दै टुप्पामा पुर्याए ।
प्लाष्टिकको झोलामा भएको चिउरा, भुजा र एक बोतल पानी जेठीआमालाई दिएर ‘आमा तपाईं एकै छिन बस्नुस् है म एक छिनमा आउँछु’ भन्दै ओरालो लाग्न आँटे । आमाले ‘बाबू विस्तारै जाऊ है, धेरै ओरालो छ लडिन्छ’ भनिन् । कर्णसिंह ओरालो लाग्दै घरतिर लागे । अब उनी ढुक्क थिए ।
बिहानको खाना खाएपछि रूखबाट भैंसीलाई डालेघाँस झारे । बेलुका भैंसी दुहेर दूध तताएर कन्तीमा राखे । खाना खाएर सुते । राति सपनामा एउटा बूढो मान्छेले उनलाई एक झापड हान्यो र भन्यो, ‘तैंले यो के गरेको ?’ त्यसपछि कर्ण सिंहलाई रातभरि निन्द्रा लाग्दैन, एउटै शब्द उनको कानमा गुन्जिरहेको थयो ‘बाबू विस्तारै जाऊ है लडिन्छ ।’ अब जेठीआमाको मायाले उनलाई पिरल्यो । बिहानै झिसमिसेमा उठेर तारेभीरतिर लागे ।
टुप्पोमा पुगेर देखे आमाले झिरिमिटी दाउरा खोजेर आगो बालेर बसेकी रहिन्छन् । उनी सुर्ती खान्थिन् । त्यसैले उनीसँग सलाई थियो । अब कर्ण सिंहले अँगालो मारेर जेठीआमालाई रूँदै भने, ‘आमा मलाई माफ दिनुहोस्, म अपराधी हुँ ।’ आमाले भनिन्, ‘हैन, बाबू तिमीबाहेक मेरो यो संसारमा को छ र ?’ कर्णसिंहले आमालाई बोकेर तल ल्याए ।
अब घरमा दुवै मिलेर एक अर्कालाई प्रेम गरेर बस्न थाले । एक दिन आमाले भनिन्, ‘बाबू हिँड जाउँ मालपोत कार्यालयमा म सबै सम्पत्ति तिम्रो नाममा गरिदिन्छु, अब तिमी बालिग भयौ ।’ कर्ण सिंह भन्छन्, ‘हैन, आमाजस्तो छ त्यस्तै होस् ।’ राति सपनामा फेरि कर्ण सिंहले त्यही बूढो मान्छेलाई देखे । तिनले भने, ‘ठीक भनिस् छोरा, तिमीलाई आशीर्वाद छ ।’