धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७७ (छाता ऐन) अन्तर्गत राख्न लागेको विरोधमा आज धरानमा मौन जुलुस निकालिएको छ ।
बिपी प्रतिष्ठानलाई छाता ऐनबाट झिकियोस्, प्रतिष्ठानलाई युनिभर्सिटी बनाइयोस्’ भन्ने मागसहित धरानबाट ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति–२०८०’ को नेतृत्वमा प्रतिष्ठान मूल गेटदेखि सैनिक चोक- छाता चोक हुँदै भानुचोकमा पुगेर कोण सभा गरिएको थियो ।
'स्वायत्तता अपहरण गर्न पाइँदैन', 'बिपी प्रतिष्ठानको रक्षा गर', जबरजस्ती नगर सरकार छाता ऐन हामी मान्दैनौं, प्रत्युत्पादक परिणाम आए केही जान्दैनौं’, लगायत नारा लेखिएक प्लेकार्ड बोकेका धरानेहरु मौन जुलुसमा सहभागी भए ।
जुलुसपछि आयोजित कोण सभामा वक्ताहरुले प्रतिष्ठानलाई छाता ऐनमा राख्ने कदमको प्रतिरोध गरेका थिए ।
संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोले छाता ऐन बनाएर बिपी प्रतिष्ठानलाई राख्न नहुने बताए । उनले प्रतिष्ठान जुन उचाइमा थियो त्यही उचाइमा रहनु पर्ने बताए । यो आफैमा ख्याति प्राप्त सस्था भएकाले यसको स्वायत्तता मार्न नपाउने बताए ।
निवर्तमान नगर प्रमुख तिलक राईले प्रतिष्ठानको अधिकार र स्वायत्तता कटौती गर्ने, वृत्तिविकास रोक्ने प्रपन्च भइरहेकाले छाता ऐनमा लान नहुने बताए । उनले प्रतिष्ठान परिपक्व भएर विश्वविद्यालयमा जाने तयारी भइरहेका बेला षड्यन्त्र गरिनु प्रत्युत्पादक हुने धारणा राखे ।
मौन जुलुसमा धरानका पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, बुद्धिजीवि, शिक्षक, प्राध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठानका चिकित्सक विद्यार्थी र युवाहरुको उपस्थिति रहेको थियो ।