धरानमा याक्थुङ उत्सव तथा याक्थुङ चलचित्रकर्मीहरुको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको छ ।
नेपालका चर्चित निर्देशक तथा लेखकहरु उपेन्द्र सुब्बा, नवीन सुब्बा र सुरज सुब्बा नाल्बोको उपस्थितिमा शनिबार धरान १५ स्थित याक्थुङ चुम्लुङ हिममा महाधिवेशन आयोजना गरिएको छ ।
याक्थुङ चलचित्रकर्मी संघ केन्द्रीय कार्यालयको आयोजनामा भएको उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई अभिनन्दन गरिएको छ । यस्तै फक्थुङलुङ अवार्डबाट कवि लेखक तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई सुशोभित गरिएको छ । यस्तै चोमोलुङमा पुरस्कारबाट चलचित्र निर्देशक सुरज सुब्बा नाल्बोलाई सम्मान गरिएको छ ।
महाधिवेशनको अवसरमा वरिष्ठ कलाकार प्रेम सुब्बालाई याक्थुङ वरिष्ठ कलाकार पदवीबाट सुशोभन गरिएको छ भने याक्थुङ चलचित्र वर्करका रुपमा किशोर सुब्बालाई पदवी प्रदान गरिएको छ ।
महाधिवेशनमा आमन्त्रित प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले अभिनन्दित, सुशोभित र पुरस्कृत व्यक्तित्वलाई पत्र तथा पदवी हस्तान्तरण गरे । विशिष्ट अतिथि धरान १५ का वडाध्यक्ष नरेश इवारमले ट्रफी प्रदान गरे । यस्तै सभाध्यक्ष नवीन मेन्याङ्बोले तिवाजो अर्पण गरी सम्मान प्रकट गरे ।
महाधिवेशनको अवसरमा संघलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सहयोगीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
महाधिवेशनमा याक्थुङ केलाङ समूहले केलाङ च्याब्रुङ नृत्य प्रस्तुत गरेको थियो । कलाकारहरुले यालाङ धान नाच प्रस्तुत गरेका थिए । यस्तै गरिमा डान्स सेन्टरले लिम्बू नृत्य प्रस्तुत गरेको थियो । दुर्गा संयक र कर्ण सम्बाहाम्फेले लिम्बू पालम प्रस्तुत गरेका थिए भने हास्य नृत्य समीर बराइलीले प्रस्तुत गरेका थिए ।
हेमु स्मृतिले लिम्बू गीत प्रस्तुत गर्दा बाल कलाकार क्यम्ब्रिङ माझीले चलचित्र नुमाफुङको गीत प्रस्तुत गरे । कमला सम्बाहाम्फे र टिका माखिमले लिम्बू गीत साम्लो प्रस्तुत गरे भने जीवन रमदनले नृत्य प्रस्तुत गरेका थिए ।
महाधिवेशनको दोस्रो सत्रमा ‘याक्थुङ चलचित्र तथा चलचित्रकर्मीहरुको विगत, वर्तमान र भविष्य’ बारे अन्तर्क्रिया राखिएको छ ।