धरान । याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिले याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनको क्रममा याक्थुङ चलचित्रमा योगदान पुर्याएका तीनजनालाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा याक्थुङ चलचित्रकर्मी लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, नवीन सुब्बा र सुरज सुब्बा नाल्बो छन् । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा महाधिवेशनको उद्घाटनको क्रममा उनीहरूलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको हो ।
नुमाफुङका लेखक तथा निर्देशक नवीन सुब्बालाई अभिनन्दन गरिएको छ । जारी फिल्मका लेखक तथा निर्देशक सुब्बालाई फक्ताङ्लुङ र निर्देशक नाल्बोलाई चोमोलुङ्मा अवार्डबाट सम्मानित गरिएको अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार याक्थुङ भाषा, कला, साहित्य र संस्कृतिलाई फिल्ममार्फत् विश्वसामु पुर्याएकोले सम्मानित गरिएको हो ।
मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर कार्यरत कलाकार प्रेम सुब्बालाई याक्थुङ वरिष्ठ कलाकार पदबाट र किशोर सुब्बालाई वरिष्ठ याक्थुङ चलचित्रकर्मी पदवीबाट सम्मानित तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा र सभापति नवीन मेन्याङ्बोले संयुक्त रूपमा अवार्ड तथा सम्मान–पत्र हस्तान्तरण गरे । महाधिवेशन आइतबार सम्पन्न भएको हो । उद्घाटनको क्रममा च्याब्रुङसहित सांस्कृतिक झाँकी, यालाङ, केलाङ, हाक्पारे, बिजुवा प्रदर्शन गरिएको थियो ।