विराटनगर । अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेशमा शनिबार रातिदेखि परेको वर्षापछि खोलामा आएको बाढी र पहिरोले ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा १–१ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले दिएको जानकारीअनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जना र अन्य तीन जनाको पहिरोले पुरेर ज्यान गएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङको पहिरोले पुरेर मृत्यु भएको उनले बताए । यस्तै सङ्खुवासभाको पाँचखपन गाउँपालिका–९  का २६ वर्षीय सन्तोष राई, भोजपुरको ट्याम्के मैयुङ–८ का २५ वर्षीय मन्दीप राई र पाँचथरको फालेलुङ–४ का ८ वर्षीया जुना  साउदेनको खोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२८ जना बेपत्ता भएकामध्ये २५ पुरुष र ३ महिला रहेका छन् भने घाइते ४ जना रहेका छन् । जसमा २ महिला र २ पुरुष छन् । सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला सङ्खुवासभा रहेको छ । सङ्खुवासभामा २० जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । बाढी पहिरोले पाँचथरको १२ वटा पुलमा क्षति गरेको छ । यस्तै १३ सडक अवरुद्ध, पूर्णरूपमा २२ घरमा क्षति पुगेको छ भने ४६ वटा चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभाको हेँवाखोलामा राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै बाढीले सङ्खुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा क्षति गरेको छ ।

यस्तै पाँचथरमा पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेँवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् । बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेँवाखोलाको पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएको जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको डिएसपी लिम्बूले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिरोले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ । ‘यादव सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानुभएको रहेछ । पहिरोले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो’ उनले भने, ‘बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेश तामाङलाई पहिरोले बगाएको थियो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङ्खोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङको गरी चार वटा घर बगाएर पूर्णरूपमा क्षति पु¥याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिरोले करिब २० घरपरिवार जोखिममा पारेको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठूलो क्षति भएको बास्तोलाले जानकारी दिए । ‘तीन जिल्लाका धेरै ठाउँमा पुलपुलेसाहरू भत्किएका छन् । केही हाइड्रोहरूमा क्षति पुगेको छ । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्णरूपमा क्षति पुगेको छ । तमोर कोरिडोरका विभिन्न पुलहरू भत्किएका छन् । त्यहाँबाट धनकुटा मूलघाटतिर जाने बाटोको आवागमन बन्द भएको छ’ डिआइजी बास्तोलाले भने, ‘वर्षा रोकिने र पुनः पर्ने क्रम जारी छ । तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारीहरू उद्धार कार्यमा लागेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् । कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था छ । पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको छ । जोखिममा भएका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’ मनसुनजन्य विपद्बाट मुलुकमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । तर, विपद् व्यवस्थापन तथा पूर्वतयारी गर्ने जिम्मेवारी पाएको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत रहेको विपद् व्यवथापनले विपद् न्यूनीकरणको पूर्वतयारी केही गरेको छैन ।