कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारको पहिलो औपचारिक वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
पहिचानवादी र कोशी प्रदेश सरकारबीच भएको वार्ता निष्कर्षविहीन टुंगिए पनि अर्को वार्ताका लागि दुबै पक्ष सहमत भएका छन् । चार घण्टाभन्दा बढी चलेको वार्तामा चाँडै अर्को वार्ता गर्ने सहमति भएको कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले जानकारी दिए । पहिलो वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री मेन्याङ्बोले जानकारी दिए । ‘आन्दोलनरत पक्षका विषय र माग उठान भएका छन्, फेरि घनिभूत छलफल गर्ने गरी पुनः वार्तामा बस्छौं ।’ मन्त्री मेन्याङ्बोले भने ।
आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाका अनुसार सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले उठाएको मागका विषयमा वार्ताको माध्यमबाट औपचारिक ढंगले राख्ने काम भएको छ, फेरि यसलाई निरन्तरता दिइनेछ ।’
कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलित छन् । आन्दोलनका क्रममा १ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।