बाढीपहिरोका कारण शनिबारयता तीन दिनमा आठ जनाको ज्यान गइसकेको छ भने २८ जना बेपत्ता भएको खबर आइरहेको छ । यो सङ्ख्या अझै बढ्ने सम्भावना छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ भने तराई क्षेत्रमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ र पाँचथर क्षेत्रमा अझै तीन दिनसम्म पानी पर्ने भनी अनुमान गरेको छ । नेपालको भौगोलिक अवस्थाले पनि फरक फरक खालका विपद्हरू निम्तिँदै आएका छन् । हिमालीभेगमा हिम पहिरोको जोखिम, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको जोखिम हुने गरेको छ । भौगोलिक कारणले गर्दा यो समस्या नेपालमा नयाँ होइन । नेपालीहरूले हरेक वर्ष नै यस्ता विपद्हरूको सामना गर्दै आइरहेका छन् । यसका लागि पूर्वतयारी र विपद्बाट बच्नका लागि अपनाउनुपर्ने सावधानीमा चाहिँ लापरबाही र हेल्चेक्रयाइँ हुँदै आएको छ । सतर्कता अपनाउनुपर्ने अवस्थाहरू हुँदाहुँदै पनि कतिपय स्थानमा भूगोलका कारणले पनि समस्याहरू निम्तिएका छन् । चाहेर पनि बच्न नसकेको अवस्थाहरू पनि छन् ।

बाढीपहिरो बर्सेनि आउने विपद्मध्ये एक हो । यसबाट बच्नका लागि उचित सतर्कताको आवश्यकता छ । पछिल्लो समय बाढीपहिरोबाट धेरै नै जनधनको क्षति हुँदै आएको छ । तीन दिनमा जुन क्षति भोगेका छौँ, त्यो अकल्पनीय क्षति हो । भौतिक क्षतिसँगै मानवीय क्षति हाम्रा लागि सबैभन्दा दुःखदायी र पीडादायी क्षति हो । यस्ता क्षतिबाट बच्नका लागि पूर्व तयारी हुन आवश्यक देखिँदै गएको छ । पृथ्वीको तापमान एक्कासि बढ्दै गएपछि अहिले अतिवृष्टि, अनावृष्टिको समस्याले विश्व आजित छ । अतिवृष्टि हुँदा हाम्रो जस्तो विकासोन्मुख देशहरूमा बढी क्षति हुने गरेको छ । एकातिर भौतिक विकासका नाममा हुने गरेको वातावरणीय दोहन र अर्कोतिर साक्षरता दरमा कमी हुँदा झन् स्थिति भयावह बनेको छ । हिजोको तुलनामा आज झनै बढी पहिरोको जोखिम बढेको छ । यसका पछाडि प्रकृतिमाथि मानवको दोहनको एउटा परिणाम नै हो । यस्ता दोहनहरूप्रति सचेत हुनका लागि साक्षरता दर बढ्न आवश्यक छ । विकासका नाममा विनास निम्तिँदा त्यसले पनि हाम्रो जस्तो भूगोलमा धेरै क्षति निम्तिरहेको छ । त्यसकारण आजको आवश्यकता भनेको सचेतता र सतर्कता नै हो ।

हरेक दिनजसो मानवीय क्षति भएको खबरहरू बाहिरिनु हाम्रा लागि चुनौतीपूर्ण हो । यसबाट बच्नका लागि अनेकन उपायहरू अपनाउन सरकार तदारुकताका साथ लाग्नुपर्छ । अहिले त तीन तहको सरकार छ । तीनै तहको सरकारले यस्ता विषयमा बढीभन्दा बढी ध्यान दिनुपर्ने आवश्यकता छ । बाढीपहिरोजस्ता विपद्बाट बच्नका लागि गर्न सकिने उपायहरूबारे नागरिकलाई ज्ञान सञ्चार गर्नुपर्छ । स्थानीय सरकारले प्रकृतिमाथि दोहन गरिरहेको अवस्था छ । यो दोहनलाई रोक्न स्थानीय सरकार आफै सजग हुनुपर्छ । जथाभावी विकास निर्माण गर्ने, वातारणीय प्रभाव मूल्याङ्कन नगर्नेजस्ता बानीका कारण पनि पहिरोलाई बढावा दिइरहेको छ । प्राकृतिक विपद्लाई हामी रोक्न सक्दैनौँ होला तर, बच्नका लागि उपायहरू अवलम्बन गर्न सक्छौँ । त्यसकारण सबै सरकारले विकासका नाममा प्रकृतिलाई दोहन गर्ने कार्य रोक्नु पनि एउटा उपाय हुन सक्छ । त्यसबारे पनि विस्तृत योजना बनाउने हो कि ?