वराहक्षेत्र । उदयपुरको बेलका नगरपालिका–७ स्थित दूधकोसी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले रुख कटान गरी काठ तस्करी गरेकोे खुलासा भएको छ ।

अवैधानिक तरिकाले रुख कटान र काठ ओसार–पसारमा संलग्न भएको आरोपमा अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा जिल्ला अदालत उदयपुरले पक्राउ पुर्जी जारी गरेपछि उक्त कुराको खुलासा भएको हो । करिब दुई महिनाअघि वनका अध्यक्ष मणिराज राई, सचिव दिनेश राई र निवर्तमान कोषाध्यक्ष ज्योति राईले मिलेमतोमा वनबाट काँचो सालको रुख कटान गरेको आरोपमा वन कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । वन कार्यालयले हालेको मुद्दामा अदालतले पक्राउ पुर्जीका लागि अनुमति दिइसकेको छ । स्थानीय कलराज राईका अनुसार वनबाट काँचो सालको रुख कटान गरेपछि वनलाई जानकारी दिएको थियो । उनका अनुसार समूहका पदाधिकारीहरूले कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा रुख काटेर वडानम्बर ८ को आराङ्गामा घाटगद्धी गरेर राखेको अवस्थामा स्थानीयले वन कार्यालयलाई उजुरी गरेका थिए ।

अवैधरूपमा सङ्कलन गरिएको काठ बिक्री गर्न लागेपछि समूहका साधारण सदस्यहरू किरण राई, विशाल राई, कलराज राई, मेसन राई र दिलिप राईले जिल्ला वन कार्यालय उदयपुरमा पदाधिकारीविरुद्ध उजुरी दिएका थिए । उपभोक्ताको उजुरीपछि कारबाही गर्दै जिल्ला वन कार्यालय गाईघाटले चिरानी र गोलिया गरी करिब १ हजार १ सय घनफुट लुकाएर राखिएको अवस्थामा साल र चिलाउने जातको काठ बरामद गरिएको जिल्ला वन अधिकृत श्रेष्ठले बताए । पहिलो चरणमा बरामद गरिएका काठहरू सोही वन क्षेत्रबाट चिरानी गरिएको साल जातको एक सय १० थान गरी कुल एक सय क्युविक फिट काठ रहेको छ । दोस्रो चरणमा आराङ्गा गाउँको खोल्सीमा लुकाएर राखिएको चिलाउने र सालको ७९ थान गोलियाको कुल ६ सय १० क्युविक फिट काठ बरामद गरिएको छ । त्यस्तै हराएको भनिएको ३३ थान करिव ३ सय १५ क्युविक फिट साल जातको गोलिया काठ आइतबार बरामद गरिएको वन अधिकृत श्रेष्ठले बताए ।

रुख कटान र तस्करीमा संलग्न वनका पदाधिकारीहरू विरुद्ध उजुरी गरेपछि आफूहरूलाई मार्ने धम्की आएको वनको साधारण सदस्य उपभोक्ता कलराज राईले बताए । चतरा, रामपुर जाँदा नचिनेका मानिसहरूले मोटरसाइकलमा पछ्याउने गरेको भन्दै राईले आफूहरू असुरक्षित बनेको भन्दै सुरक्षाको माग गरे । ‘हामीले उनीहरूविरुद्ध जेठ २३ गते जिल्ला वन कार्यालय गाईघाटमा उजुरी गरेका छौं, तर, उजुरीपछि पनि उनीहरूलाई अहिलेसम्म किन पक्राउ गरिँदैन ?’ राईले प्रश्न गरे, ‘उनीहरूले वनमा कतिसम्म अनियमितता गरेका छन् ? हालसम्म वनको कुनै आम्दानी र खर्च देखाएका छैनन् । न त लेखा परीक्षण नै गराएका छन्, छन् भने न कुनै लेखापरीक्षण नै गराएका छन्, उनीहरुले आफुखुशी समिति पनि फेरबदल गरेका छन् ।’

यता वन कार्यालय उदयपुरले अध्यक्ष मणिराज, सचिव दिनेश र निवर्तमान कोषाध्यक्ष ज्योतिविरुद्ध जेठ २८ गते पक्राउ पुर्जी जारी गरी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई सहयोगको लागि पत्राचार गरेको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । ‘सकेसम्म हामी आफैले आरोपीहरूलाई पक्राउ गर्ने हो तर, वन कार्यालयसँग प्रहरीजस्तो संयन्त्र नभएको हुनाले प्रहरीलाई सहयोग मागिएको हो’–श्रेष्ठले भने । आरोपीहरू पक्राउ गर्न बेलका नगरपालिकाको इलाका प्रहरी कार्यालय रामपुरलाई पत्र लेखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका मुद्दा शाखाका असइ ऋषिकेश खनालले जानकारी दिए । प्रतिक्रियाको लागि आरोपी वनका अध्यक्ष मणिराज राईलाई ९८२९६०५३८४ मा फोन सम्पर्क गर्दा फोन उपलब्ध हुन सकेन ।