देउराली ।  धरानमा विश्व सङ्गीत दिवसको अवसरमा विभिन्न कार्यक्रम कार्यक्रम गरी सङ्गीत उत्सव मनाइने भएको छ । 

धरान सङ्गीत प्रतिष्ठान प्रतिष्ठानले  असार ८  विश्व सङ्गीत दिवसको अवसरमा विभिन्न संगीतिक कार्यक्रम गरी मनाउने भएको हो । मङ्गलवार प्रतिष्ठानको  कार्यालय धरान १० पुतली लाइनमा पत्रकार सम्मेलन गर्दै  प्रतिष्ठानले सङ्गीत दिवसको कार्यक्रमका बारेमा जानकारी दिएको हो । 

प्रतिष्ठानका अध्यक्ष  रमेश राईले  शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा  विश्व सङ्गीत दिवसको अवसरमा संगीतिक कार्यक्रम गरिने बताएका छन् । उनले  प्रतिष्ठानका सल्लाहकार तथा चर्चित गायक तथा सङ्गीतकार दीप श्रेष्ठ र गायिका लोचन भट्टराई लगायत अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने गरी  चुम्लुङ हिममा 'इन हाउस' कार्यक्रम गरिने बताए । 

अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रममा रातको खाना समेत उपलब्ध गराइने राईले बताए । उनले  कार्यक्रममा विभिन्न कलाकारहरूको साङ्गीतिक लाइभ प्रस्तुति दिनुका साथै  कलाकार सम्मान अन्तर्गत वरिष्ठ गायिका लोचन भट्टराई साथै वरिष्ठ गीतकार श्याम तमोटलाई सम्मान गरिने कार्यक्रम रहेको बताएका छन् । 

साथै प्रतिष्ठानले विधिवत् रूपमा धरान उपमहानगरपालिकाका  प्रमुखलाई प्रतिष्ठानको संरक्षकको भूमिकामा राखिने पनि बताएका छन् ।  राईले प्रतिष्ठानले २०७० साल देखी नै प्रत्येक वर्ष  विश्व सङ्गीत दिवसको अवसरमा साङ्गीतिक कार्यक्रम गर्दै आएको अघिल्ला वर्षहरूमा खुल्ला रूपमा गरिए पनि यस वर्ष भने 'इन हाउस' हुने बताए ।