भ्रष्टता यति धेरै बढेको छ कि यो जताततै देखिन्छ । उदयपुरको बेलका नगरपालिका–७ स्थित दूधकोसी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले साल तथा चिलाउने जातको रुख कटान त्यसैको एउटा उदाहरण हो । भ्रष्ट मनोवृत्तिले यति धेरै जरा गाडिसकेको छ कि त्यसलाई निर्मूल पार्न सहज छैन । यसका लागि कानूनले मात्रै निमिट्यान्न पार्न सक्छ भन्ने भ्रमबाट पहिला मुक्त हुनुपर्छ । यदि कानूनले यस्ता भ्रष्ट मानसिकतालाई निर्मूल पार्ने थियो भने आजसम्म देशमा सबै खालका भ्रष्टाचार र अनियमितता पूर्णरूपमा अन्त्य भइसकेका हुन्थे । हरेक मानिसमा पैसा कमाउने होडबाजीले निम्त्याएको यो भ्रष्टताले गर्दा देश नै थिलथिलो अवस्थामा पुगेको छ । यसो हुनुमा देशका राजनीतिक दल, कर्मचारी सङ्गठन सबैभन्दा बढी दोषी छन् । उनीहरूबाट सुरु भएको यो प्रवृत्ति अन्ततः नागरिककहाँ आइपुगेको छ । गलत तरिकाले पैसा कमाउने होडबाजी हुने प्रवृत्ति सबैभन्दा बढी दोषी छ ।

वनका पदाधिकारीहरू जो मुख्य पदमा छन्, उनीहरूले जुन हर्कत गरेका छन्, त्यो क्षम्य गर्ने खालको छैन । वनजङ्गलको संरक्षणका लागि बनेका सामुदायिक वनका पदाधिकारीले नै यो हर्कत गरिनु आफैमा लज्जाको विषय हो । यो विषय यहाँ मात्रै सीमित छैन । धेरै सामुदायिक वनमा यो समस्या विद्यमान छ । केही समयअघि झापामा पनि यस्तै प्रकृतिको घटना भएको थियो । शिवसताक्षी नगरपालिकाको एक सामुदायिक वनका पदाधिकारीहरूले यस्तै प्रकृतिको घटना घटाएका थिए । समाचारका रूपमा बाहिर आएपछि मात्रै यस्ता घटनाहरू बाहिरिने गरेका छन् । कानूनी रूपमा दोषी पदाधिकारीहरू होलान् । तर, यस्तो कार्य गर्न उक्साहट गर्ने र यस्ता कार्य गर्न उत्प्रेरित गर्ने जे जति छन्, उनीहरू पनि यसका प्रमुख दोषीहरू हुन् । हाम्रो राजनीतिक संस्कार, कर्मचारीको संस्कारले पनि यसलाई मलजल गरिरहेको छ । भनिन्छ, ‘जे रोपिन्छ, त्यही फल्छ ।’ समाजको संरचनाअनुसार नै मानिसको मनोवृत्तिको पनि विकास हुन्छ । त्यसकारण समाजमा हुने गलत गतिविधिहरूले प्रश्रय पाउँदा नै त्यसलाई नियन्त्रण गर्न सकेको भए आज यो अवस्थासम्म आइपुग्दैनथ्यो । यहाँ वनका पदाधिकारीहरूले जुन गलत तरिकाले पैसा आर्जन गर्न खोजे । कानूनी रूपमा गलत भए पनि हाम्रो समाजले त्यसलाई स्थापित गरिरहेको छ । पैसा कमाउने मान्छेले कसरी पैसा कमायो भन्ने पृष्ठभूमि हेरेर उनलाई समाजमा व्यवहार गरिने हो भने यो समस्या उहिल्यै हल हुने थियो । तर, पैसा जुनसुकै पृष्ठभूमिबाट कमाए पनि मानसम्मान दिने प्रचलनका कारण भ्रष्टताले स्थान पाउँदै गयो । त्यसकारण समाज निर्माणको चरणबाटै गलत र सही पक्ष छुट्याउने हैसियतमा नागरिकहरू हुनुपर्छ ।

वनका पदाधिकारीलाई कानूनले कारबाही गर्ने नै छ । तर, हाम्रो कानून परिपालना गर्ने तौरतरिकाहरू चाहिँ अहिले पनि परम्परागत छन् । प्रक्रिया सबैभन्दा बढी दोषी छ र गलत गर्नेहरूलाई कारबाही गर्ने संयन्त्रले कारबाही नगरिदिँदा थप प्रश्रय पाइरहेको अवस्था छ । कानूनी प्रक्रिया दोषी हुँदा धेरै कुरालाई प्रभाव पारिरहेको हुन्छ । यस घटनामा जो जति दोषी देखिनेछन् वा देखिएका छन्, उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनी दायरामा ल्याउन आवश्यक छ । रुख कटान गरी वातावरणलाई हानि पु¥याएको भनी त्यसतर्फ पनि कानूनी प्रक्रिया अगाडि बढ्न आवश्यक छ । एक रुख नहुँदा वा अभावमा वातावरणलाई कति क्षति गर्छ, त्यसतर्फ पनि विचार गरेर अदालतले कारबाही गरिदिने हो भने धेरै हदसम्म समस्या निराकरण हुन्छ । हाम्रो सामाजिक संरचनालाई पनि सुधार गर्न आवश्यक छ । सबैभन्दा सुरुमा राजनीतिक दलहरू, कर्मचारीतन्त्रले आफ्नो भ्रष्ट मनोवृत्तिलाई त्याग्न आवश्यक छ । नैतिकवान् हुने, धर्मपरायण हुनेतर्फ सबै दत्तचित्त हुने हो भने गलत कार्यहरू त्यसै त्यसै अन्त्य भएर जानेछन् ।