भद्रपुर । निर्माण व्यवसायीबाट घूस लिएको अवस्थामा झापाका तीन कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घूस रकमसहित पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टङ्गाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घूससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिँदै गरेको अवस्थामा मङ्गलबार नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।