वराहक्षेत्र । चतरास्थित सप्तकोसी नदीबाट धरानमा खानेपानी लानको लागि नदीमा सुरु गरिएको माटो परीक्षण ड्रिलिङको काम तत्काल रोक्नुपर्ने वराहक्षेत्र नगरपालिकाले बताएको छ ।
सङ्घीय सरकारको अनुदानमा धरान लाने भनिएको खानेपानीको काममा धरान उपमहानगरपालिकाले वराहक्षेत्रसँग सहमति तथा समन्वय नगरेको भन्दै नगरले काम रोक्न भनेको हो । खानेपानीको माटो परीक्षणका सम्बन्धमा वराहक्षेत्रको कार्यालयमा आइतबार बसेको धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाको बैठक पछि प्रतिक्रिया दिँदै वराहक्षेत्रका प्रमुख रमेश कार्कीले धरानलाई खानेपानी दिन सकारात्मक भएको तर, जबरजस्ती शैलीमा दिन नसकिने बताए । ‘धरानलाई पानी दिने विषयमा हामी हिजो र आज पनि सकारात्मक छौँ, तर उहाँ (मेयर हर्कराज राई) को व्यवहारमा हाम्रो आपत्ति हो, वराहक्षेत्रमा उनको हैकम नचल्ने र हामीलाई बेवास्ता गरिए चुप लागेर नबस्ने साथै जुनसुकै कदम चाल्न तयार छौँ’–नगरप्रमुख कार्कीले स्पष्ट पारे ।
‘हिजो कोका खानेपानी अभियानको विवाद ताजै छ, त्यस बेला पनि मेयर हर्कराज राईले कुनै समन्वय नगरी आफूखुसी पानी लगे, फेरि पनि पुरानै शैलीमा कुनै सम्झौता र सहमति नगरी नदीबाट पानी लाने प्रयास गरिँदैछ; यो हामीलाई मान्य हुने छैन’ नगरप्रमुख कार्कीले भने, ‘नदीमा परीक्षणस्थलको अवलोकन गर्न सकिन्छ तर, सहमति नभएसम्म काम गर्न दिइने छैन ।’ पटक–पटक हामीले दुवै स्थानीय निकायको आपसी सहमति र समझदारीमा काम गरौँ भन्दा कुनै चासो नदिएका धरानका नगरप्रमुख राईले जबरजस्ती काम गरेको उनले बताए । सङ्घीय सरकारको चतरा–धरान खानेपानी आयोजना एक हप्ता अगाडिबाट चतराको ‘ओल्ड इन्टेक’ स्थित कोसी नदीमा सुरु भएको खानेपानी आयोजनाको लगि माटो परीक्षण तथा सर्वेक्षणको काम गरिरहेको छ । परीक्षणमा पानी लगिने स्थानको रेडियल कलेक्टर वेल (आरसीबी टेष्ट) परीक्षण भइरहेको साइट इन्जिनियर निर्मल कुँवरले बताए ।
परीक्षणमा जमिनमुनिको पानी र माटोको गुणस्तर जाँच तथा सो स्थानमा बनाइने संरचनाको डिजाइनको पारामिटरको सर्वेक्षणसमेत गरिने कुँवरले जानकारी दिए । नदीबाट लगिएको पानी जम्मा गर्ने ट्याङ्की बनिने धरानको फुस्रेमा पनि सोही प्रकारको परीक्षण गरिने उनले बताए । नदीमा परीक्षणको काम सकिन करिब १५ दिन लाग्ने छ भने भारतको वापकोस र काठमाडौंको सिम्याट कन्सल्टेन्सी निजी कम्पनीले आयोजनाको सर्वे गरिरहेको छ । करिव २० किलोमिटर लम्बाइ रहेको उक्त खानेपानी लिफ्टिङ प्रणालीबाट लगिनेछ । जसका लागि वराहक्षेत्रको चतरामा पानी प्रशोधन केन्द्र बनाइनेछ । त्यहाँबाट खानेपानी ट्रिटमेन्ट गरेपछि पानी धरान पठाइनेछ ।
यसको लागि ३ हेक्टर जमिन आवश्यक पर्ने सङ्घीय सरकारको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन विभाग प्रमुख उज्वल प्रजापतिले बताए । उनले सर्वेसँगै खानेपानीको पाइप डिजाइनको कामसमेत भइरहेको जानकारी दिए । केही दिनअगाडि मात्र सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा धरानको लागि चतरास्थित कोसी नदीबाट खानेपानी लाने बताएका थिए भने कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा धरान खानेपानीको लागि ४ करोड रुपैयाँ छुट्याएको छ । रेडियल कलेक्टर वेल भनेको धेरै मात्रामा पानी लान नदी किनारमा बनाइएको इनारजस्तो संरचना हो, जसबाट पाइपमार्फत् पानी पम्प गरी ट्याङ्कीमा जम्मा गर्ने गरिन्छ ।
यस प्रकारको सिस्टम नदी किनारनजिक रहेका नगरपालिकाहरूको लागि उपयुक्त मानिन्छ । जेठ २९ गते धरानको खानेपानी व्यवस्थापन वोर्डले उक्त आयोजनाको लागि गरिने ‘जियो टेक्निकल सर्वे’ का लागि सहयोग गरिदिन पत्र पठाएको थियो । आयोजनाको लागि धरानका नगरप्रमुख हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा र वडा नं.४, ११, १३ र १८ का वडाध्यक्ष र वराहक्षेत्र नपाको वडा नं. १ बीच भएको बैठकमा वडाको मौरीघाटस्थित जङ्गलमा खानेपानी ट्रिटमेन्ट र स्टोरेज प्लान्टको लागि आवश्यक जमिन उपलब्ध गराउन पहल तथा सहयोग गरिने सहमति भएको थियो । यता धरानका नगरप्रमुख हर्कराज राई बैठक सकारात्मक भएको भन्दै सो सम्बन्धमा फेरि पनि बैठक बस्ने बताए ।